काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा छापा मारेको छ ।
कम्पनीले बजारबाट म्याद गुज्रिरहेका पाउरोटी र कुकिजलाई उठाउने र त्यसैको धुलो बनाएर पुन कुकिज, टोस्ट तथा बिस्कुट बनाएर बिक्री वितरण गरेको आरोपमा प्रहरीले छापा मारेको हो ।
प्रहरीले छापा मार्ने क्रममा सन् २०१९ मै मिति गुज्रेको कुकिजलाई समेत धुलो बनाएर पुनः कुकिज बनाएको प्रहरीले फेला पारेको छ ।
अत्याधिक सडे गलेका पाउरोटी समेत सुकाएर पुनः कुकिज बनाएको भेटिएको र सबै बस्तुलाई नष्ट गरिएको महाशाखाका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए । उनले १२० बोरा म्याद गुज्रीएका पाउरोटी र कुकिज फेला पारेको बताए ।
गत ३० माघमा नक्कली मह बेच्ने आरोपमा पक्राउ परेका नरबहादुर श्रेष्ठले यो कम्पनी पनि सञ्चालन गरेकाे खुलेको छ ।
प्रहरीकाअनुसार श्रेष्ठले सञ्चालन गरेको स्पर्श फुडसहित श्रीतारा फुड्स एण्ड प्याकेजिङ प्रालिले दुवै खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएका छैनन् । यी दुवै कम्पनीमा खाद्य तथा गुण नियन्त्रण विभागले सिल गरेको छ ।