भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञ छु : भारतीय राजदूत

काठमाडाैं । भारतको ७४ औँ सेना दिवसको अवसरमा नेपाल स्थित भारतीय राजदूतावसको रक्षा प्रभागले फागुन ८ गते एक समाराेह सम्पन्न गरेकाे छ ।

नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका जनरल प्रभुराम शर्माकाे प्रमुख आतिथ्यमा समाराेह सम्पन्न भएकाे हाे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरेका थिए । भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता दाेहाेर्‍याए । राजदूत क्वात्राले सन् २०२१ डिसेम्बर आठमा हवाई दुर्घटनामा परि श्रीमती मधुलिका रावत र अन्य ११ जना सैनिक सहित दिवंगत हुनुभएका जनरल विपिन रावत प्रति श्रद्धञ्जली अर्पण पनि गरे ।

यसैगरी, प्रसिद्ध प्रबल जनसेवा जनरल प्रभुराम शर्माले भारतका सेनाध्यक्ष एवम नेपाली सेनाका मानार्थ महारथी जनरल एमएम नरवणेलाई भारतको ७४ औं सेना दिवसको अवसरमा शुभकामना व्यक्त गरे । उनले दुई सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्यबारे चर्चा गर्दै कोभिड–१९ महामारी विरुद्धको लडाइँमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोग र नेपाली सेनाको आधुनिकीकरणमा भारतीय सेनाले खेलेको भूमिकाको प्रशंसा गरे । सोही अवसरमा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति शर्माले सम्मान पनि गरेका थिए ।

समारोहमा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी, थिंक ट्यांकका सदस्य र पत्रकारहरुको उपस्थिति थियो ।

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम. करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाइने गरिएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१