जयनन्द लामाको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

उनले आज ट्विट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गरेकी छन् । दुःखको यस घडीमा स्व लामाप्रति उनले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन् ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार ट्विट गर्दै गायक लामाको असामयिक निधनबाट मुलुकले गीतसङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गरेका छन् ।

उनले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१