स्थानीय चुनाव सार्ने षडयन्त्र असफल भयो : महासचिव पोखरेल

रुपन्देही । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताएका छन् । उनले चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु भएकोसमेत बताएका छन् ।

एमाले केन्द्रीय कार्यक्रमअन्तर्गत बुधबारदेखि बुटवलमा सुरु भएको दुईदिने प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एमालेको जनलहर देखेर चुनावमा एक्लै जान डराएका चुनावबाट भाग्ने असफल भएकोसमेत बताए । उनले एमसिसी परियोजनाका बारेमा सरकारमा सहभागी दलहरुबीच नै दोहोरो भूमिका देखिएको भन्दै पाँच दलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको बताए ।

उनले सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने जनाउँदै प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा हुन नहुने बताए । उनले पाँच दलीय गठबन्धन बनाएर एमाले पार्टी नेतृत्व र पार्टीका विरुद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको जनाउँदै एमालेलाई जनताको साथ रहेकाले त्यस प्रकारको घेराबन्दीलाई सामना गर्ने पनि बताए ।

पोखरेलले चुनावी तयारीमा लाग्न सबै नेतालाई निर्देशनसमेत दिए । प्रशिक्षणमा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मालगायत सहभागी हुनुहुन्छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१