रसियामाथि सम्भावित ‘युद्ध अपराध’काे अनुसन्धान, के हाेला कारबाही ?

रसियाले युक्रेनमा आक्रमण गर्दा नागरिकमाथि बमबारी गरेको आरोप लागेपछि सम्भावित युद्ध अपराधको अनुसन्धान सुरु भएको छ ।

इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)का चिफ प्रोसेक्युटरले सम्भावित युद्ध अपराध, मानवता विरुद्धको अपराध र नरसंहारमा प्रमाण संकलन भइरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

३९ देशहरूले अनुसन्धान गर्नको लागि आह्वान गरेपछि आईसीसीले यसलाई अघि बढाएको हो।

युक्रेनको राजधानी कीभका साथै खार्किभ र खेरसोनलगायतका शहरहरूमा हालैका दिनहरूमा भारी गोलाबारी भएकाे छ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो शहर खार्किभमा रसियाले हवाई आक्रमण गर्दा युद्ध अपराध गरेकाे आरोप लगाएका थिए ।

सुरुमा आईसीसीका चिफ प्रोसेक्युटर करिम खानले युक्रेनमा भएका घटनाहरूको ‘सकेसम्म चाँडो’ अनुसन्धान सुरु गर्ने योजना बनाएको बताएका थिए । तर, बेलायत, फ्रान्स र जर्मनीलगायत ३९ देशहरूले आह्वान गरेपछि न्यायिक स्वीकृति बिना नै अनुसन्धान सुरू गर्न बाटो खुलेको हो ।

उनले युद्ध अपराध, मानवता विरुद्धको अपराध र नरसंहारसम्बन्धि विगत र वर्तमानका मुद्दाहरू हेर्ने बताएका छन् । क्रिमिया रसियामा विलय हुनु अघिको समय सन् २०१३ सम्म फर्किएर अनुसन्धान गरिने उनले बताए ।

आईसीसीले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्धित सबैभन्दा गम्भीर अपराधको अभियोग लागेका व्यक्तिहरूलाई कारबाही गर्ने गर्छ । आईसीसीको आफ्नै प्रहरी बल छैन तर अभियुक्तहरूलाई पक्राउ गर्न उसले विभिन्न देशको सहयोग लिन सक्छ । आईसीसीले अभियुक्तविरुद्ध जेल सजाय र जरिवाना तोक्न सक्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१