• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

उत्तरपश्चिम पाकिस्तानको मस्जिदमा विस्फोट, ३० को मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा रहेको खैबर पख्तुनख्वा प्रान्तको मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन्।

दुई आतङ्ककारीले मस्जिद भित्र पस्ने प्रयास गर्दा त्यहाँ ड्युटीमा रहेका प्रहरी बीच गोली हानाहान हुँदा एक प्रहरीको मृत्यु भएको र अर्का गम्भीर घाइते भएको पेशावरका प्रहरी अपरेसनका वरिष्ठ सुपरिटेन्डेन्ट हारुन रसिदले सिन्ह्वालाई बताएका छन् ।

गोलीबारीको घटना लगत्तै मस्जिदभित्र विष्फोट भएको बताउँदै उनले प्रारम्भिक अनुसन्धानका अनुसार त्यहाँ प्रार्थना गर्नेहरू माथि आत्मघाती हमला भएको बताएका छन् ।

उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर घाइतेहरूलाई शहरको लेडी रिडिङ अस्पतालमा लगिएको थियो। घाइतेमध्ये कम्तीमा १० जनाको अवस्था गम्भीर रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्जिदमा भएको घातक हमलाको निन्दा गर्नुका साथै घाइतेहरूलाई तत्काल चिकित्सा सहायता उपलब्ध गराउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले विस्फोटबारे सम्बन्धित निकायबाट विस्तृत प्रतिवेदन लिन पनि आग्रह गरेका छन् । कुनै पनि समूह वा व्यक्तिले आक्रमणको जिम्मा लिएका छैनन् ।