
काठमाडाैं । रुसले छिमेकी युक्रेनमाथि १० दिनदेखि लगातार आक्रमण गरिरहेकाे छ । राजधानी किभलगायतका विभिन्न स्थानका रुसी सेनाले आक्रमण गरिरहेका छन् ।
युक्रेनी सेनाले पनि रुसी सेनाकाे सामना गरिरहेका छन् । रुसले आक्रमण सुरु गरेकाे केही दिनमा नै युक्रेन रुसकाे कब्जामा आउने दाबी गरिएकाे भए पनि रुस १० दिन सम्ममा पनि आफ्नाे याेजनामा सफल हुन सकेका छैनन् ।
यतिबेला युक्रेनका राष्ट्रपति भेलाेडिमिर जेलन्स्की यतिबेला युक्रेनी सेनासँग डटेर लडिरहेका छन् । बेलाबेलामा सामाजिक सञ्जालमार्फत आएका उनका सन्देश यतिबेला विश्वभर चर्चामा छ । उनका यी अभिव्यक्ति युक्रेनी सेनाका लागि थप उर्जा पनि बनेकाे छ ।
यो युद्धमार्फत् रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको सत्ता ढाल्न चाहन्छन् । युद्ध सुरू भएको दुई दिनमै रूसी सैनिकहरू युक्रेनको राजधानी किएभतर्फ अघि बढेका थिए ।
आकाशबाट युक्रेनका विभिन्न स्थानमा मिसाइल हानेको रूसले जमिनबाट पनि ठूलो मात्रामा सैनिक पठाउन लागेको थियो । स्याटेलाइटबाट लिइएको तस्बिरमा रूसी सैनिकका गाडीको दर्जनौँ किलोमिटर लामो लावालस्कर किएभतिर अघि बढिरहेको देखिएको थियो ।
उत्तरमा प्रिबिस्कदेखि दक्षिणमा एन्टोनोभ विमानस्थल नजिकैसम्म ६४ किलोमिटर लामो रूसी सैनिक गाडीको लावालस्कर एक सातासम्म रोकिएको छ । त्यो लावालस्कर रोकिनुका पछाडिको कारण के हो भन्नेबारे अहिले चर्चा भइरहेको छ ।
रुसी सेनाको विशाल लस्कर पछिल्ला केही दिनमा केही मात्र बढेको छ ।
फेब्रुअरी २८ मा लावालस्करकाे स्याटेलाइट तस्बिर सार्वजनिक भएको थियो । त्यसपछि किभ सहरमा छिट्टै आक्रमण हुने आशंका गरिएको थियो ।
तर बेलायती र अमेरिकी अधिकारीहरूले सामानसम्बन्धी समस्याका कारण त्याे लस्कर अवरुद्ध भएको दाबी गरेका छन् । गएकाे बिहीबार बिहान एक खुफिया अपडेटमा, बेलायतको रक्षा मन्त्रालयले तीन दिनमा उक्त लस्कर सामान्य रुपमा केहीमात्र अघि बढेकाे उल्लेख गरेकाे थियाे ।
हतियारधारी सवारी साधन, ट्याङ्क र अन्य सैन्य उपकरण बोकेको यो विशाल लस्कर राजधानीतर्फ अघि नबढ्नुमा खाद्यान्न समस्या, युक्रेनबाट अप्रत्याशित प्रतिरोध र रूसी सेनाको कम मनोबल अनुमान गरिएकाे छ ।
मेकानिकल ब्रेकडाउन अर्थात् सवारीसाधनको ब्रेकडाउन हुनसक्ने पनि अनुमान गरिएकाे छ । यसबाहेक खाद्यान्न र इन्धनको आपूर्ति पनि सीमित रहेको बताइएको छ ।
बेलायतको संयुक्त सैन्य कमाण्डका पूर्व कमाण्डर जनरल सर रिचर्ड ब्यारोन्सले भनेका छन् ‘इन्धन, खाना, स्पेयर पार्ट्स र सवारीकाे टायर ठूलो समस्या हुनसक्छ ।’
उनी भन्छन्, निर्देशन र नियन्त्रणका विषयहरु, जस्तै रेडियो नेटवर्क र सञ्चार विफलताले पनि ठूलो चुनौती खडा गर्न सक्छ ।
पेन्टागन, अमेरिकी रक्षा मुख्यालयले पनि रुसी सेनाले यी समस्याहरु भाेगिरहेकाे दाबी गरेकाे छ । पेन्टागनले युक्रेन जसरी लडिरहेको छ, त्यसले पनि याे लस्कर अघि बढ्न बाधा पुर्याइरहेकाे हुनसक्ने बताएकाे छ ।
तर, उनले स्वतन्त्र रूपमा यसको पुष्टि गर्न नसक्ने बताए ।
यो पनि बुझिएको छ, युक्रेनले सोचेभन्दा धेरै बल प्रयोग गरी प्रतिरोध गरेको छ, यसले रूसीहरूको मनोबलमा असर गरेको हुन सक्छ ।
युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का पूर्व सचिव ओलेक्सान्डर ड्यानिल्युकले बीबीसीलाई भनेका छन्, युक्रेनी सेनाले राजधानीको रक्षा गर्न सक्ने सामर्थ्य राखेपछि उक्त लस्करकाे मनोबल दिनप्रतिदिन कमजोर भइरहेकाे छ ।
मंगलबार, एक अमेरिकी रक्षा अधिकारीले पत्रकारहरूसमक्ष रूसी सेनामा मनोबल समस्याको संकेत गरेका थिए ।
समाचार संस्था एपीका अनुसार पनि रूसी आपूर्ति ट्रक, सैनिक र हतियारको विस्तार खाद्यान्न र इन्धनको अभाव, हिलो बाटो र मौसमको चुनौती उक्त लस्करले झेलिरहेको छ ।
इन्स्टिच्युट फर स्टडी अफ वारका रूस विश्लेषक मासन क्लार्ककाअनुसार यो लावालस्कर अघि बढ्न नसक्नु जमिन, जल र आकाशबाट यति ठूलो युद्ध नगरेको रूसी सैनिकको अनुभवहीनताको संकेत भएकाे बताएका छन् । तर यसको अर्थ रूसीहरूले युक्रेनी सुरक्षाकर्मी हराउन सक्दैनन् भन्ने होइन ।
पश्चिमा अधिकारी र विश्लेषकका अनुसार रूसी लावालस्कर आकाशबाट हुने आक्रमण प्रतिरोध तयारीसहित आएका छन् । त्यही भएर युक्रेनी सेनाले आकाशबाट आक्रमण गर्न नसकेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
लावालस्करमा रहेका केही गाडीमा इन्धन कम भइरहेकाे पनि बताइएको छ । रूसी कमाण्डरले किभको अवस्था बुझ्न र मूल्यांकन गर्न र त्यतिञ्जेल आपूर्ति पनि सहज बनाउन जानजानी रोकिने निर्णय गरेको हुन सक्ने पनि केही विश्लेषकहरुले बताएका छन् ।
यद्यपी, रुसी आक्रमणकाे दशाैँ दिनमा रसियाको रक्षा मन्त्रालयले युक्रेनका २ शहरमा अस्थायी युद्ध विरामको घोषणा गरेको छ । मरिओपो र भोल्नोभाखामा मानवीय सहयोगद्वार खुल्ला हुने गरी युद्ध विराम घोषणा गरिएको बीबीसीले जनाएकाे छ ।
युद्धग्रस्त २ शहरमा फसेका मानिसहरुलाई निस्कन सहज हुने गरी युक्रेनी अधिकारीहरुसँग सहमति भएको रसियाले जनाएको छ । युक्रेनले भने युद्ध विरामको बारेमा केही पुष्टि गरेको छैन ।
युद्धका कारण हालसम्म १२ लाखभन्दा बढीले युक्रेन छाडिसकेका छन् । अझै लाखौँ मानिस युक्रेन छाड्ने तयारीमा रहेको बताइएकाे छ ।
यद्धकाबीच रसिया र युक्रेनबीच युद्ध राेक्नका लागि वार्ताका प्रयास पनि भइरहेकाे छ ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुकाे सहयाेगमा