
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन् ।
मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउनका लागि आफूले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारिन् । गत मंसीर १ गतेबाट सिंचाईमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अव त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउन आफूलागि परेको बताएकी थिइन् ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादित हुने बस्तुहरु आयात नगर्न पनि व्यवसायीहरुलाई पटकपटक आग्रह गरिन् । उनले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने धारणा राखिन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजारको माग अनुसार हस्तकला सामग्रीहरुको विक्रीवितरण गर्न उद्योगीहरुलाई आग्रह गरे । उनले हस्तकलाका सामग्रीको प्रवद्र्धनका लागि औद्योगिक ग्राम बनाउनुपर्ने र त्यसका लागि आवश्यक पूर्वाधार विकासका लागि काठमाडौं महानगरपालिकाकाले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकलाका सामग्रीहरुको उत्पादन र विश्व बजारमा निर्यातका लागि सहयोग गर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित क्षेत्रका उद्योगीहरुलाई आग्रह गरे । उनले कोभिडका लागि हस्तकला क्षेत्रका व्यवसायीहरु पलायन हुने अवस्था आएको उल्लेख गर्दै उनीहरुलाई पलायन हुन नदिन आफूले सक्दो पहल गर्ने पनि बताए ।
मेयर महर्जनले भूकम्पले ध्वस्त बनाएका सम्पदाहरुको पुनर्निर्माणको कामलाई आफूहरुले स्थानीयबासीकै सहकार्यमा अघि बढाएको पनि स्मरण गराए ।