
वीरगंज । नेपाली चलचित्रका अभिनेता एवं समबोधी फाउन्डेशनका अध्यक्ष निखिल उप्रेतीले अहिले मुलुकमा हिन्दू धर्म, संस्कृति र परम्परा हराउँदै गएको बताएका छन् ।
वीरगंजस्थित जैन धर्मशालामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबुद्व नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रमलाई सम्बोधनका क्रममा अभिनेता उप्रेतीले हिन्दू धर्मलाई समाप्त पार्न युवाको प्रयोग भइरहेको बताए ।
उनले आफ्नो धर्मको रक्षा गर्नका लागि सबै एकताबद्ध हुनुपर्ने बताए । उनले अब राजनीतिक कुरा नउठेसम्म हिन्दू धर्मको रक्षा हुने नसक्ने बताए । एक धार्मिक व्यक्तिले अधार्मिक व्यक्तीलाई कहिल्यै पनि नेतृत्वकर्ताको रुपमा स्वीकार गर्न नसक्ने उनको भनाइ थियो ।
कार्यक्रममा राजनितिक विश्लेषक डा. देवेश झाले मुलुकमा धर्मनिरपेक्षताको नाममा हिन्दू धर्म समाप्त पार्ने सड्यन्त्र भइरेको बताए । उनले हिन्दू धर्म आफूहरुको पहिचान भएकाले समयमै नेपाल हिन्दू राष्ट्र कायम हुन नसके यसको अस्तित्व नै समाप्त हुने बताए ।
यस्तै, कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले विश्वको एक मात्र नेपाल हिन्दू राष्ट्र भएकोमा यसको पहिचान समेत देशका नेताहरुले मास्ने काम गरेको आरोप लगाए ।
उनले विदेशीको इसारमा आर्थिक प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष घोषणा आक्रोश व्यक्त गरे । जनताको जनमत नै लिई देशलाई धर्म निरपेक्ष घोषणा गरेकाले विश्वकै एक मात्र पहिचान हिन्दू राष्ट्र गुमेको बताए ।
वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजसेवी तथा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्य, हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानका केन्द्रीय सदस्य देवेश झा, बजरङ्गी दास र अभियानका जिल्ला संयोजक सत्रुधन गिरी, नेपाली कांग्रेसकी नेतृ डा.सुष्मा द्विवेदी, लोसपाकी नेतृ रम्भा मिश्र लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।