• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

किभ । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् ।

व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो ।’

विगत एक महिनाभन्दा बढी समयदेखि रुस र युक्रेनबीच युद्ध भइरहेकाे छ । टर्कीमा भएको शान्ति वार्तापछि रुसले गएकाे मंगलबार उत्तरी युक्रेनको किएभ र चेर्निगिभका क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई ‘ठूलो मात्रामा’ कटौती गर्ने बताएको थियो ।

रुसका उपरक्षामन्त्रीले एलेक्जेन्डर फोमिङले ‘आपसी विश्वास बढाउनका लागि’ सैन्य गतिविधि धेरै मात्रामा कटौती गर्न लागिएको बताएका थिए ।

युक्रेनका राष्ट्रपति भेलाेडिमिर जेलेन्सकीले वार्ताका प्रारम्भिक सङ्केतहरू सकारात्मक भएको बताएका छन् । यद्यपी युद्ध भने राेकिएकाे छैन ।

यसैबीच, युक्रेनमाथि आक्रमणपछि रुस “कमजोर देश” बनेको यूकेका रक्षामन्त्री बेन वालेसले दाबी गरेका छन् ।

रुसी सेना थाकेको र उनीहरूको देशले ठूलो नोक्सान बेहोरेको उनको भनाइ छ । स्काई न्यूजसँग उनले भनेका छन् ‘राष्ट्रपति पुटिन पहिले जस्तो शक्तिशाली छैनन् र उनी अब आफैले बनाएको पिँजडामा थुनिएका मानिस भएका छन् । रुसी सेनाको भव्य प्रतिष्ठा खेर गएको छ ।’