काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सदस्यता वितरण र आर्थिक सहयोग पनि अनलाइनबाट लिने व्यवस्था मिलाएको छ । पार्टीकाे वेबसाइटमा गएर सदस्यता र आर्थिक सहयोग दिन सकिने छ ।
नेपालीहरूले दिने आर्थिक सहयोगले देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलनलाई थप उचाइमा पुर्याउने दाबीसमेत पार्टीले गरेकाे छ । पार्टी सिद्धान्त, नीति, विधान र कार्यक्रमलाई नि:शर्त रूपमा पालना गर्न मन्जुर हुनेहरूले अनलाइनबाटै सदस्यता लिन सक्नेछन् ।
राप्रपाले भनेकाे छ, ‘तपाईंले प्रदान गर्ने आर्थिक सहयोगले पार्टीको नीति, विचार, सिद्धान्त प्रवर्द्धन गर्न, हिन्दू-राष्ट्र र राजसंस्थाको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्य प्राप्तिका लागि आवश्यक गतिविधि र कार्यक्रम सञ्चालन गर्न टेवा पुग्नेछ ।’
यस्तै, पार्टीका गतिविधि सञ्चालन गर्न विदेशीको सहयोग र प्रायोजनको पक्षमा राप्रपा नभएकाे पनि स्पष्ट पारिएकाे छ ।