• २०८३ असार १०
  • 2026 June 24, Wednesday

एमालेले निर्माण सम्पन्न गरेकाे चोभार सुक्खा बन्दरगाहको शिलान्याश देउवाले गरे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको बताएका छन् ।

बुधबार भक्तपुरको सिपाडोलमा बिनासकारी भूकम्पबाट क्षति भइ पुननिर्माण गरिएको श्री शान्ति निकेतन माध्यामिक बिद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको बताएका हुन् ।

उनले पटक-पटक अवरोधपछि एमाले सरकारले बनाएको बन्दरगाह अहिले सञ्चालनमा आउनु सुखद् रहेको धारणा राखेका छन् । एमाले सरकारले विकासका निकै काम गरेको र फेरि पाँच वर्ष सरकारमा बसेपछि शिलान्यास र उद्घाटनको कामले तीव्रता लिने उनले बताए ।

वर्तमान सत्तागठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिएर उनले कुहिएको गठबन्धन झरेपछि फेरि मुलुक विकासको बाटोमा अघि बढ्ने समेत बताए । ओलीले परमादेशपछि बनेको वर्तमान सरकारका कारण मुलुकको विकासको काम नै अवरुद्ध भएको जिकीर गरे ।

अध्यक्ष ओलीले शिक्षा क्षेत्रको विकासका लागि यसअघिको एमाले सरकारले ल्याएका कार्यक्रमलाई एमाले सरकारमा गएपछि प्राथमिकताका साथ निरन्तरता दिने उल्लेख गरे । कार्यक्रममा बिद्यालय पुननिर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।