• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको पूर्वराजाकाे गुनासो, अर्थ व्यवस्थाप्रति चिन्ता व्यक्त

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नेपालकाे व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको गुनासो गरेका छन् ।

भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने उनले बताएका छन् । नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गरी शाहले वर्ष बदलिँदा हर्ष पनि बढ्नुपर्ने धारणा राखेका छन् ।

‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’, उनले भनेका छन्, ‘तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।’

उनले नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना पनि गरेका छन् ।

शाहले मुलुकको अर्थ व्यवस्थाप्रति चिन्ता व्यक्त गरी घर घरमा बढ्दो महँगी र थपिँदो आर्थिक बोझले जीवन गुजारा गर्न अत्यन्त कठिन भएको बताएका छन् ।

नेपाल कोहीसँग कतै टाँसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लागेको बताएका छन् । उनले छिमेकी मित्र राष्ट्रहरूप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र नभएर मुलुकको शान्ति तथा स्थायित्व र राष्ट्रिय अस्मितामा समेत प्रभाव पर्न जाने अवस्थाप्रति चनाखो हुनुपर्ने पनि बताएका छन् ।