काठमाडाैं । अध्यापक तथा कवि भोज कुमार धमलाको कविता सङ्ग्रह ‘द सेल्फिस सिटी’ शनिबार विमोचन गरिएको छ । २३ अप्रिलका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर पुस्तक विमोचन गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा आयोजित कार्यक्रम प्रकाशक अम्बर प्रकाशनका निर्देशक विनय भूषण दत्तको अध्यक्षता र कवि तथा प्रोफेसर पद्म देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा कवि, समालोचक, साहित्यकार, प्राध्यापक, पत्रकार तथा अन्य विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरूको भव्य उपस्थिति रहेको थियो। प्रमुख अतिथि देवकोटा, प्रोफेसर अरुण गुप्तो, पत्रकार तथा राजनीतिक विश्लेषक मुमाराम खनाल, प्राध्यापक केशव सिग्देल, प्रकाशक विनय दत्त, पूर्व राजदूत मोहन कृष्ण श्रेष्ठ , कवि भोजकुमार धमला र उनका पिता दयाराम धमलाले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।
कार्यक्रममा बोल्दै कवि भोजकुमार धमलाले गुरुहरूका पनि गुरु बाट आफ्नो पहिलो कृति विमोचन गर्न पाएकोमा आफू हर्षित भएको बताए। केही वर्षअघि कवि देवकोटालाई भेटेको र आफ्ना केही कविताहरू देखाउँदा उनले थप लेख्न आशीर्वाद दिएको स्मरण गर्दै उनले कविता अनुभवहरूको सँगालो भएकाले कृति भित्र आफूले वर्तमान समयको यथार्थ समेट्ने प्रयास गरेको बताए। पुस्तक भित्र समेटिएको ‘अ डिग्री होल्डर’ र टाइटल कविता ‘द सेल्फिस सिटि’ लाई उनले वाचन पनि गरेर सुनाएका थिए।
प्राध्यापक केशव सिग्देलले कार्यक्रममा बोलाएकोमा आयोजकलाई धन्यवाद र कविलाई बधाई दिए । स्वार्थी सहरको विषयमा कविता लेखेर त्यही सहरमा हलभरि मान्छे राखेर कविता विमोचन गरेको भन्दै उनले यति धेरै माया गर्ने दर्शक कमाउनु सफलता भएको उल्लेख गरे । पहिलो कृती सार्वजनिक हुनु आफैँमा उत्सव भएको भन्दै कविले प्रतिज्ञा बाट सुरु गरेर सिर्जनात्मक निरन्तरताको याचना बाट अन्त्य गरेकाले यो यात्रा निरन्तर रहने सङ्केतका रूपमा आफूले बुझेको उनको भनाइ थियो । कवि धमलाको कृतिमा उन्नत काव्यिक चेतना भेटिने पनि उनले बताए ।
पत्रकार तथा राजनीतिक विश्लेषक मुमाराम खनालले नेपाली साहित्यका लागि भोज कुमार धमला जस्तो काव्य बुझेको व्यक्तिले आफ्नो कृति सार्वजनिक गर्नु सुखद भएको बताए । नेपाली साहित्यको उन्नयनमा कवि धमलाको ठुलो योगदान रहने विश्वास व्यक्त गरेका उनले कृतिको नाम माथि पनि प्रकाश पार्ने काम गरेका थिए। आफू दरिद्र भएर पनि यो सहरले हामीलाई सबै थोक दिएको भन्दै उनले स्वार्थी सहर नभई मानव भएको धारणा राखे।
प्रोफेसर अरुण गुप्तोले एउटा शिक्षकले आफ्ना विद्यार्थी पास गराएर पठाएपछि मात्र चिन्छ भन्ने भनाई सत्य भएको बताए। कवि धमला आफ्नै विद्यार्थी भए पनि यो स्तरको कवि हो भन्ने आफूलाई पहिले कहिल्यै नलागेको उनको भनाइ थियो। ‘द सेल्फिस सिटी’ पल्टाउँदै गर्दा आफूलाई यो कृति अरूको कविता भन्दा फरक लागेको उनले बताए। १९२०/३० को बलाएरको सहरको चित्रण जस्तै यो पुस्तक स्तरीय भएको भन्दै उनले अक्स्फोर्डले छाप्न पर्ने स्तरको कृति रहेको बताए । मानव मस्तिष्कको द्वन्दलाई स्तरीय रूपमा उठान गर्न सकेकोमा कृति उत्कृष्ट भएको बताएका उनले सहरी कविता सम्बन्धी अध्ययन सामग्री हुनसक्ने धारणा राखे।
कार्यक्रमका मुख्य आकर्षण, प्रमुख अतिथि कवि देवकोटाले कहीँ पनि कार्यक्रममा नजाने मान्छे कविको हृदयमा रहेको कविता प्रतिको गहिरो प्रेम देखेर आफू उपस्थित भएको बताए। कविताले मानव जीवन, मानव अवस्था र विश्वको साक्षी बोक्ने र त्यहाँ भित्र कि दुख कि सुख बोलेको हुने उनले बताए । एउटा कविको जीवनबारे बोल्दै उनले भने, ‘कलमले मन भित्रको हर्ष र दर्दहरू बोल्ने आधार दिन्छ । जीवनका अनेक भोगाइहरू भोगेको मान्छे भएन भने कविता जन्मँदैन जस्तो मलाई लाग्छ। एउटा स्कुलको नेतृत्व गरिरहेको मान्छेलाई कुन दर्दले छोएर किन कविता लेख्न आइपुग्यो होला ? देवकोटाका कवितामा पनि पिडा बोध देखिन्छ । मानसिक पिडा पोख्न आफैँलाई लेख्न सिकाएका देवकोटा अन्त्यमा शारीरिक पिडा दिने क्यान्सरले छ्ट्पटिएर बित्नु भएको छ । हो यसरी कवितामा शारीरिक र मानसिक दुवै पिडाको प्रतिनिधित्व हुन्छ।’
कवितालाई रहर मात्रै नगरेर पेसाका रूपमा लिने परिपाटी बढ्दै गएको भन्दै उनले त्यो हानिकारक हुनसक्ने बताए । मुनामदनको सुरुवाती हरफ “पेसाले बिग्रियो कविको धर्म” को प्रसङ्ग जोड्दै उनले भाषा र कल्पनामा राम्रो दक्खल राख्नेले मात्रै कविता लेख्नसक्ने बताए । ‘द सेल्फिस सिटी’ को २/३ वटा बिम्बहरू आफूलाई बहुत गढको भन्दै उनले नाम लिएरै ‘मर्निङ ग्लोरी’ को प्रशंसा गरे। त्यस्तै ‘अ डिग्री होल्डर’ आफूलाई मुनामदनमा मदन नेपाल बाट हिँडे जस्तो अनुभूति भएको बताए। कविको उज्ज्वल भविष्यको संकेत पहिलो कृतिले नै दिएको भन्दै उनले आगामी यात्राका लागि शुभकामना समेत दिए ।
अम्बर प्रकाशनले प्रकाशन गरेको धमलाको ‘द सेल्फिस सिटी’ आइतबारदेखि सर्वत्र बजारमा उपलब्ध हुने बताइएको छ ।