• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

कोहलपुरमा कांग्रेसविरुद्ध बागी उम्मेदवारी दिएका बलराम शर्माले मनाेनयन फिर्ता लिए

नेपालगञ्ज। बाँकेको कोहलपुर नगरपालिकाकाे मेयरमा कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका बलराम शर्माले आफ्नो मनाेनयन फिर्ता लिएका छन् ।

पार्टीले युवाका नाममा आफूजस्ता पुराना कार्यकर्ताको भावनाको सम्बोधन नगरेको भन्दै उनले पार्टीकै उम्मेदवारविरुद्ध नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उनले आफ्नो फेसबुकवालमा लेखेका छन्, ‘कोहलपुर नगरपालिकाको प्रमुख पदमा दिएको मेरो उम्मेदवारी फिर्ता लिएको छु । नेपाली कांग्रेसका उम्मदवारलाई जिताउन अनुरोध गर्दछु ।’

उनी पार्टीको लामो समय कोहलपुर नगर समिति सभापति र हाल निर्वाचन क्षेत्र- १ क का सभापति हुन् । कोहलपुर नगरपालिकाका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार शुक्रबार दिउँसो साढे १ बजेसम्म कोहलपुरमा एक जना प्रमुख, एकजना वडा अध्यक्ष र दुई वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरू सबै स्वतन्त्र उम्मेदवार बनेका थिए ।