
काठमाडौं । भारतका चर्चित गायक एवं राजनीतिज्ञ सिध्दु मुसेवालाको हत्यारा नेपालमा रहेको आशंका गरिएको छ । मुसेवालाको हत्या गरेर अपराधिहरु नेपालमा लुकेर बसेको दिल्ली प्रहरीलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ ।
समाचार अनुसार मुसेवालाको हत्याराको खोजी गर्न दिल्ली प्रहरीको एउटा टोली शुक्रबार नेपाल आइपुगेको छ । इन्टेलिजेन्स विशेषज्ञसहितको टोली नेपाल आइपुगेको स्रोतलाई उद्धृत गरिएको छ ।
पंजाब प्रहरीले मुसेवालाको हत्या लगत्तै दुई जना अभियुक्तलाई पक्राउ गरेको थियो। हत्याराले प्रयोग गरेको बोलेरो गाडीमा दुबै जनाको संलग्नता रहेको पंजाब प्रहरीको दाबी छ ।
गत मंगलबार दुई जना बन्दुकधारीले गायक एवं राजनीतिज्ञ मुसेवालको उनकै गाउँ नजिक हत्या गरेको थियो ।
हतियारधारीले ३० राउन्ड गोली प्रहार गरेको प्रहरीको दाबी छ । जसमा २५ वटा गोली लागेर मुसेवालाको शरीर छतविछत बनाइएको थियो । अधिकांश गोली छाती र पेटमा लागेको प्रहरीले जनाएको छ ।