अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एसपीपीबारे कसले के भने ?

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढ्ने स्पष्ट पारेका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सरकारले नै एसपीपी सम्झौता नहुने भनेपछि यसको च्याप्टर क्लोज भइसकेको बताएका हुन् । उनले प्रधानमन्त्री, नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेको जिकिर गरे । एसपीपी राष्ट्रिय हितमा नरहेकोले अब अघि नबढ्ने उनको भनाइ छ ।

बैठकमा सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको बताए । तर सैन्य गठबन्धनका लागि नलेखिएको उनकाे भनाइ थियाे ।

प्रधानसेनापति शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पनि पारे । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए । आफ्नो अमेरिका भ्रमणका क्रममा कुनै सम्झौता नहुने उनले स्पष्ट पारे ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एसपीपीका विषयमा कन्फ्युजन पैदा भएको बताए । उनले कसैको दवाबमा मुलुकको हित बिपरित कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए । एसपीपीकाबारेमा सुरुदेखि अहिलेसम्म के–के भयो भनेर सरकारले जानकारी दिनुपर्ने उनकाे भनाइ छ ।

बैठकमा एमालेका नेता भीम रावलले एसपीपीमा कुरा नगराैँ भनेर परराष्ट्रमन्त्रीले भन्न नमिल्ने भन्दै यसबारेमा जनताले थाहा पाउनुपर्ने बताए । एसपीपीबारे सबै कुरा बाहिर आइसकेपछि यस विषयमा स्पष्ट हुनुपर्ने उनकाे भनाइ छ । उनले यस विषयमा अध्ययन गर्न संसदीय छानविन समिति बनाउन प्रस्ताव गरे ।

त्यस्तै, बैठकमा एमालेका नेता प्रदीप ज्ञवालीले एसपीपीबारे सेना र रक्षा मन्त्रालयले गरेको प्रक्रियाका बारेमा स्पष्ट पार्नुपर्ने बताए ।

त्यस्तै, कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने भन्दै विदेश नीतिमा टेकेर भ्रमण हुनुपर्नेमा जोड दिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१