वर्तमान राजनीति राष्ट्रलाई धाेका दिने एउटा संयन्त्रमा परिणत भएको छ : डा. युवराज संग्राैला

काठमाडाैं । वरिष्ठ अधिवक्ता डा. युवराज संग्राैलाले नेपालकाे वर्तमान राजनीति राष्ट्रलाई धाेका दिने एउटा संयन्त्रमा परिणत भएकाे बताएका छन् ।

उनले पछिल्लाे समय राजनीतिमा स्वतन्त्रका नाममा अर्को अराजकताको निर्माण भैरहेको दाबी पनि गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत डा. संग्राैलाले वर्तमान राजनीतिबारे टिप्पणी गरेका हुन् ।

उनले नेपालकाे राजनीतिकाे दुइटा मुख्य चुनौती पनि उजागर गरेका छन् । उनका अनुसार पहिलाे चुनाैति, राजनीति गर्नेमा मौलाएको नैतिकताको पतन र दाेस्राे राजनीतिक विचारधारामा मौलाएको विचारधाराको स्खलन । उनले भारतकाे उदाहरण दिँदै भनेका छन्, ‘भारतमा अहिले ४१ प्रतिशत सासंदहरु एक वा अनेक फौजदारी मुद्दामा मुछिएका छ्न । नेपाल त्यही यात्रामा अगाडी बढ्दैछ ।’

अगाडि उनले भनेका छन् ‘जब विचारधाराको पतन हुन्छ राजनीतिक दलहरूमा, तब नेता ब्यक्तिगत स्वार्थमा लिप्त हुन्छ्न् । उनीहरु राष्ट्रकाे स्वार्थ परीत्याग गर्न किन्चित शंकोच मान्दैनन् । अहिले स्टेट पार्टनरसिप कार्यक्रम यही हो । यसकाे रुप र स्वरुप सन् १८४० पछि अमेरीकाले चीनमा यसरी नै आफ्नो अधिन खोजेको थियो । चीन १९४९ मा मुक्त भयो, तर अमेरसका अहिले पनि “वी लस्ट चाइना” भन्ने गर्छ । के चीन अमेरिकाको गोजीको पर्स थियो र हराउने । यही सोचलाई भनिन्छ ‘साम्राज्यवाद ।’

डा. संग्राैलाले स्टेट पार्टनरसिप कार्यक्रम र वर्तमान राजनीतिका बारेमा ६ बुँदामा टिप्पणी गरेका छन् । उनले भनेका छन् :

१. नेपाल ७० वर्षदेखि आफ्नो स्वतन्त्रतामा ऐंजेरु (ट्युमर)को सामना गरिरहेको छ । सन् १९२३ मा ब्रिटिस उपनिवेश सँगकाे सन्धीले नेपालको स्वतन्त्रतालाई “उपनिवेशी” शासकको नियन्त्रणमा छोड्नु पर्‍यो । सन् १९५० मा स्वतन्त्र भारतले पनि ब्रिटिश उपनिवेशी नीति नै कायम राख्याे । सूक्ष्म व्यवस्थापन भनेको ‘यही निर्देशित वा नियन्त्रित स्वतन्त्रता’ को उदाहरण हो । नेपाली नेतालाई देशको यो पीडाले कहिल्यै पोलेन । उनीहरु आफ्नो स्वार्थलाई मलजल गर्न सँधै तल्लीन रहे ।

२. चीन गुमाउनु पर्दा बहुलाएको अमेरिकाले नेपाललाई तिब्बती स्वतन्त्रताका नाममा चीनलाई रोक्ने नीति लागू गर्ने भूमि बनायो। आजसम्म त्यही नीति यथावत् छ । नयाँ शिक्षा, एकीकृत परियोजना हुँदै अहिले एमसीसीमा आइपुग्दा राजनीतिक पार्टीले जनतालाई झुक्याए ।

३. कम्युनिस्ट पार्टीहरुको राजनीतिको एउटा नीति साम्राज्यवादको विरोध गर्नु हो । तर सत्तामा सम्लग्न कम्युनिस्ट पार्टीहरु साम्राज्यवादसँग सहकार्य गर्दैछन्, नेपालमा । अमेरिकासँग अहिले स्टेट पार्टनरसिप कार्यक्रमको जगजगी छ । युटा राज्यको नेसनल गार्डसँग नेपाली सेनाको सहकार्यको अवस्था सिर्जना गर्न नेपालका राजनीतिक दल कृयाशील छन् । गठबन्धनको सरकार छ, त्यसमा दुइटा कम्युनिस्ट पार्टी सामेल छन् । अर्को विपक्षीमा छ, तर त्यो सत्तामा रहेको समयमा २०१९ मा यो कार्यक्रम अमेरिकाले घोषित गरेको हो ।

४. नेपालको वर्तमान राजनीति राष्ट्रलाई घोकादिने एउटा संयन्त्रमा परीणत भएको छ । यस अवस्थाले देशभक्त नागरिकलाई पीडा हुन्छ ।

५. देशमा अल्प ज्ञानको खेती वनमारा पलाएझैँ पलाएको छ । बाैद्धिक जमात मुर्छित छ । देशमाराहरु एमसीसी समर्थनमा डुक्रिन्थे । अहिले स्टेट पार्टनरसिप कार्यक्रममा दुलामा पसेका छन् । यो कार्यक्रमले अमेरिकी सेनालाई नेपाल आउने बाटो खुल्छ । यो कुन आर्थिक सहयोगको कार्यक्रम हो, तिनले जवाफ दिनुपर्छ ।

६. यो फोहोर राजनीतिमा स्वतन्त्रका नाममा अर्को अराजकताको निर्माण भैरहेको छ । अब देशले राजनीति नेतृत्वमा उत्पादनशील, देशभक्त समाजवादीहरुको एकता र नेतृत्वको अवसर निर्माण गरेको छ ।

उनले नेपाललाई अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धाको मारबाट जोगाउनु हेरेक नागरिकको कर्तव्य भएकाे पनि उल्लेख गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१