
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए ।
उनले दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षकाे सम्झौता गरेका थिए । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किरहेका बेला पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् ।
उनले एक साताअघि नै मेलमार्फत क्यानसमक्ष राजीनामा पत्र बुझाएका थिए ।
दासानायकेको पहिलाे कार्यकाल भने नेपाली क्रिकेटका लागि सुखद् बनेको थियो ।
उनको प्रशिक्षणमा नेपालले विश्व क्रिकेट लिग डिभिजन ४ देखि १ सम्मको यात्रा तय गरेको थियो । साथै, २०१४ मा बंगलादेशमा आयोजित टी-२० विश्वकपमा नेपालले स्थान बनाएको थियो ।