• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

इनड्राइभर प्रयोग गर्ने क्रममा दिएको विवरणको दुरुपयोग गरी पोर्न साइटमा राख्ने एकजना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर व्युरोले नमोबुद्ध नगरपालिका–५ स्थायी घर भइ काठमाडौं बौद्धमा बस्ने कर्म वाङ सिङलामा लाई पक्राउ गरेको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पीडित तेश्रो लिङ्गीले आफूले प्रयोग गर्दै आएको फेसबुक एकाउन्टमा पोष्ट गरेका तस्वीरलाई डाउनलोड गरी फेक एकाउन्ट बनाइ प्रोफाइल तथा कभर तस्विरको रुपमा पीडित तेश्रो लिङ्गीको तस्वीर अपलोड गरी उक्त फेक एकाउन्टको म्यासेन्जर मार्फत पीडित बनी पीडितका साथीहरुसँग कुराकानी गरी पैसा समेत माग गरेको आरोप प्रहरीको छ ।

उनले पीडितको बारेमा सामाजमा झुठा अफवाह फैलाउनुका साथै सोही फेसबुक एकाउन्ट प्रयोग गरी ग्रुपमा अर्की पीडित महिलाको पेशा देह व्यापार हो भन्ने आशय दिने शब्दहरु लेखी पोष्ट गरी सामाजिक सञ्जाल फेसबुक मार्फत पीडितहरुलाई ब्यक्तिगत र सामाजिक रुपमा मानसिक तनाव, हैरानी दिइ बदनाम गराई चरित्र हत्या गरेको प्रहरी आरोप छ ।

साथै पीडित महिलाले राइडर एप्लिकेसन इनड्राइभर प्रयोग गर्ने क्रममा दिएको विवरण को दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको पाइएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई बिहीबार जिल्ला अदालत काठमाडौँबाट दिन ५ म्याद थप भइ आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।