गणतन्त्र दिवसमा जेलमुक्त भएका रामनाथले गरे आफ्नै काकाको हत्या

महोत्तरी । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेर रिहा भएका एक पुरुष काकाको हत्या आरोपमा फेरि पक्राउ परेका छन् ।

गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद भुक्तान गरेर कारागारमुक्त भएका पिपरा गाउँपालिका–५ का रामनाथ दास पुनः कर्तव्य ज्यान मुद्दामा नै पक्राउ परेका हुन् ।

कोदालो प्रहारबाट आफ्नै काकाको हत्या गरेको आरोपमा शुक्रबार ४५ वर्षीय दासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनका काका रामबहादुर दास खेतमा गएको बेला कोदालोले कन्चटमा हानेर हत्या गरेको सबुद तथा दसी फेला परेपछि रामनाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनले काका रामबहादुर आँपको रुखमुनि सुतिरहेको अवस्थामा कोदालोको धारिलो भागले शरीरका विभिन्न भागमा प्रहार गरेका चोटपटक देखिएको प्रहरीको भनाइ छ ।

उनीहरुबीच केही दिन अगाडी झगडा भएको थियो । घरबाट कोदालो बोकेर भतिज रामनाथले काका आँपको रुखमुनि सुतिरहेको थाहा पाएपछि घरबाट नै कोदालो बोकेर गएको प्रहरीको भनाइ छ ।

उक्त कोदालो रामनाथ दासको श्रीमतीले पहिचान गरेकी थिइन भने अभियुक्तको घरबाट अन्य प्रमाणसमेत फेला परेको थियो ।

प्रारम्भिक बयानमा रामनाथले समेत हत्या गरेको स्वीकार गरेका छन् । काकाको हत्यापछि नुहाएका रामनाथले हत्याका क्रममा रगत लागेको आफूले लगाएको कपडामा धोएर सुकाएको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

यसअघि पनि साविक सहोडवा–५ बस्ने राम बिलास दास तत्मा लाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा रामनाथ ७ वर्ष कैद सजाय भुक्तान गरेर रिहा भएका हुन् । गणतन्त्र दिवस अवसरमा गत १५ जेठमा केन्द्रीय कारागार त्रिपुरेश्वरबाट रिहा भएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७