आसिफ शेखको शतकमा केन्याविरुद्ध नेपालको सानदार जित

काठमाडाैं । युवा ओपनर आसिफ शेखको शतकमा नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्यामाथि ७ विकेटको सानदार जित हात पारेको छ ।

२ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा आसिफ शेखले १ सय २० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले ।

नेपाललाई सानदार जित दिलाउन अर्जुन साउद र आसिफ शेखले पहिलो विकेटका लागि ३१.१ ओभरमा १ सय ४१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अर्जुन ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनमा आउट भए ।

ज्ञानेन्द्र मल्ल ५० बलमा १ चौकासहित २४ रनमा आउट भए । कप्तान रोहित पौडेल ३ रन र दीपेन्द्रसिंह ऐरी ११ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे ।

केन्याका विशिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एक एक विकेट लिए ।

त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्या ४८.१ ओभरमा २ सय १८ रनमा अल आउट भएको थियो ।

अब दोस्रो खेल शनिबार हुनेछ । यसअघि भएकाे पाँच टि२० आई खेलको सिरिज नेपालले ३–२ ले जितेको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७