समानुपातिकतर्फ मेराे उम्मेदवारी किन ?

बागलुङ । टिकटकाे लागि म नेताहरुकाे घरमा जान्नँ, मलाई कांग्रेस बुझ्नु  छ । नेपाली कांग्रेस समाजवादकाे नारा लगाउने पार्टी हाे कि हाेइन मलाई जान्न मन छ ।

म समाजमा रुपान्तरण चाहान्छु । युवाहरुकाे प्रतिनिधित्व खाेजिरहेकाे छु । समाज रुपान्तरणको बाटोमा आर्थिक, सामाजिक परिवर्तन जरुरी छ । समाजको रुपान्तरण गर्ने शिक्षा, स्वास्थ्य, यातायातजस्ता सामाजिक परिवर्तनको चाहनालाई सम्बोधन गर्न र याे परिवर्तन सम्भव पार्नका लागि म प्रतिनिधित्व गर्न तयार भएकाे हाे ।

म काेही केन्द्रीय नेताहरुसँग नजिक छैन । जिल्लामा बसेर नेवि संघ स्थानीय तहदेखि जनस्तरमा राजनिती गरेर विद्यार्थीकाे सवालमा आवाज उठाउदै आएँ । म राजनीतिमा माध्यमिक विद्यालय स्तर संगठनकाे तल्लो इकाइबाट आएकाे मान्छे हुँ ।

राजनीतिमा युवाहरुलाई समाजवाद र प्रजातन्त्रको परिभाषामात्र सिकाउने हाे कि युवाहरुकाे चाहाना अनुरुप पाेलिसी निर्माणमा प्रतिनिधित्व पनि गराउने भन्ने भन्ने केन्द्रीय नेताहरुकाे हातमा छ । केन्द्रीय नेताहरुले अब पार्टीमा युवाहरुकाे सहभागिता बढाउने र विकास निर्माणमा युवा जाेस जाँगरलाई संलग्न गराउने बेला आएकाे छ । यसका लागि नेतृत्व गर्न युवाहरु जागरुक भइसकेकाे मेराे बुझाइ छ ।

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसबाट राजनीतिमा लागेकाे म २०६२ देखि ६४ सम्म संस्कृत उच्च माध्यमिक विद्यालय इकाइ अध्यक्ष थिएँ । ६४ देखि ६७ सम्म तत्कालीन जैदी गाविसकाे नेविसंघ अध्यक्ष बनेँ । हाल बागलुङ जिल्लाकाे नेविसंघ अध्यक्ष पनि रहेकाे छु ।

नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा म प्रदेश प्रतिनिधि पनि हुँ । संगठनका जिम्मेवारी विभिन्न स्थानहरूमा बसेर संगठनकाे गरिमालाई उच्च राख्ने काम युवा जोस र जाँगरका साथमा गरिरहेकाे छु । संगठनलाई गति दिने र आम युवाहरुकाे चाहना सम्बोधन गर्ने काम निरन्तर सक्रियताको साथमा गरिरहेकाे छु ।

म कुनै पनि केन्द्रीय नेताहरुसँग नजिक छैन । संगठनले अथवा पार्टीले आजसम्म कुनै पनि लाभको पद दिएको छैन र मैले लिएको पनि छैन । युवा अवस्थामा पार्टीमा र संगठनमा धेरै समय व्यतीत गरेको र भविष्यमा पनि युवाका सपना साकार पार्न समानुपातिक प्रतिनिधित्वको आवाज बुलन्द गर्ने अठाेट बाेकेर समानुपातिक सांसद हुने इच्छा प्रकट गरेको छु ।

पार्टी र संसदमा युवाहरुको पनि समानुपातिक प्रतिनिधित्व हुनुपर्छ र नेपाली कांग्रेस पार्टीमा जनस्तरमा रहेर काम गरेका तर केन्द्रीय नेतृत्वसँग नजिक नरहेका ब्यक्तिको खाेजी हुन्छ/हुँदैन, यहाँ त्यसको पनि हेक्का हुने हुँदा म आफू उम्मेदवार भएकाे जानकारी सबैमाझ गराउँछु । एउटा सामान्य परिवारमा जन्मिएर विद्यालयको इकाइ समिति हुँदै जिल्ला र काङ्ग्रेसकाे प्रदेश प्रतिनिधि बनेकालाई नेपाली कांग्रेस पार्टीले कसरी हेर्छ ? त्यसको लागि पनि मेरो उम्मेदवारी दर्ता गरेकाे हुँ ।

पार्टीले सामान्य तरिकाबाट एउटा सोच, विचार, एजेन्डा लिएर उठेका युवाहरुलाई समानुपातिक प्रतिनिधित्वको रुपमा हेर्छ कि मात्र संगठन गर्ने र राजनीतिक भाेट बैंकको रुपमा मात्र प्रयोग गर्छ याे मूल्यांकनकाे लागि पनि मैले उम्मेदवारी दिएकाे हुँ । नेपाली कांग्रेस पार्टी आदर्शका कुरा मात्र गर्ने हो वा साँच्चै व्यवहारमा लागू पनि गर्न चाहान्छ यसकाे मूल्यांकनका लागि पनि मेराे उम्मेदवारी हाे ।

अधिकांश शुभचिन्तक साथीहरुले उमेदवारी दर्तापछि किन युवा पनि समानुपातिकमा ? प्रत्यक्षमा हुनुपर्छ नि ? भन्ने प्रश्न पनि गरिरहनुभएकाे छ । म युवाकाे प्रतिनिधित्वको लागि समानुपातिक तर्फबाट संसदमा आवाज लिएर जानेछु । आगामी दिनमा म जस्तै तल्लो तहबाट राजनीतिमा आउने युवाका लागि उदाहरण बन्नका लागि पनि मैले याे कदम उठाएकाे हुँ । पार्टीकाे नजरमा म जस्ता युवा पर्छन् कि पर्दैनन् भन्ने जान्नका लागि पनि मैले समानुपातिकमा उम्मेदवारी दर्ता गराएकाे हुँ ।

(लेखक पाैडेलले बाग्लुङ क्षेत्र नं १ (ख) का समानुपातिकतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।)

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७