राप्रपा चुनावमा पत्तासाफ हुँदै, लिङ्देनमाथि लोहनीको कब्जा (भिडिओसहित)

काठमाडाैं । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष रहेका प्रदीपविक्रम राणाले कमल थापा र आफू एउटै पार्टीमा रहेको दाबी गरेका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै अध्यक्ष राणाले एउटै नामका दुईवटा पार्टी र दुईवटा अध्यक्ष रहेको कुरा अस्वीकार गर्दै कानुनतः आफुहरु एउटै पार्टीमा रहेको दाबी गरेका हुन् ।

कमल थापालाई गाई चुनाव चिन्ह दिन नहुने भन्दै सर्वोच्च अदालतमा रिट दिएर थापाको विपक्षमा फैसला गराउन सफल राणाले अब चाँडै पार्टी भित्रको घर झगडा अन्त्य हुने विश्वास व्यक्त गरे ।

राणा भन्छन्, ‘अब पहिला घर झगडा मिलोस, त्यसपछि एउटै विचार र सिद्धान्त भएका अन्य दल र समूहसंग कुरा गरौंला । म कमल थापालाई आजपनि उत्तिकै सम्मान गर्छु । राजसंस्थाका लागि संघर्ष गर्ने थापा जति अरु कोही छैन । थापा पुनः राजसंस्थाको एजेण्डामा फर्किन्छन् भने उनलाई नेता मानेर हिंँड्न म तयार छु । ’

राणाले राप्रपा पार्टी तहसनहस गर्ने सम्पूर्ण दोष डा. प्रकाशचन्द्र लोहनीलाई दिए । उनका अनुसार अहिलेका अध्यक्ष राजेन्द्र लिङ्देनसमेत लोहनीको इशारामा चलिरहेका छन् । लोहनीकै कारण लिङ्देन असफल हुने संकेत देखिएको छ ।

लोहनीले राजसंस्था र हिन्दुत्वलाई नभइ आफनो व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई मात्र महत्व दिने गरेका छन् । उनी अहिले लिङ्देनलाई हटाएर आफू अध्यक्ष बन्ने रणनीतिमा छन् । लोहनीको प्रभावबाट मुक्त हुन नसकेका लिङ्देनले पार्टीको प्रभावसमेत देखाउन सकेका छैनन् ।

राणा भन्छन्, ‘लिङ्देनले काठमाडौंसहित देशभर गरेको आमसभामा कति मान्छे आए ? सहभागिहरु एक हजार भन्दा बढी छैनन् । काठमाडौंमा त दुईचार सय पनि थिएनन् । यस्तो हुन्छ राप्रपाको आमसभा ? राजसंस्थाको पक्षमा मान्छे छैनन भन्ने सन्देश दिन खोजेको हो ?’

अहिले राप्रपामा पशुपतिशम्शेर राणा र बुद्धिमान तामाङको तेजोबोध गरी बाहिरका मान्छे हुल्ने काम भैरहेको राणाको आरोप छ । अहिले पनि राप्रपाको केन्द्रीय समिति र महाधिवेशन प्रतिनिधिमा अधिकांश मान्छे कमल थापा र पशुपतिका छन । ती मान्छे त्यहाँबाट निस्किए लिङ्देनको के हालत हुन्छ ?

‘राप्रपाले दुई-चार सिटका लागि विचार नै नमिल्ने एमालेसंग गठवन्धन गर्नु सैद्धान्तिक पतन हो । आफनो संगठन विस्तार गरेर चुनाव जित्ने कि एमालेका भोटको भर पर्ने ? यस्तै हो भने आउँदो चुनावमा राप्रपा पत्तासाफ हुन्छ ।’ राणाको प्रश्न छ ।

विस्तृत भिडिओमा :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१