
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा नेपालका स्थानीय धर्मसंस्कृतिलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणीको सर्वत्र विरोध भइरहेको छ ।
बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवं मनोभावनामाथि ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको भन्दै देशभरि नै विभिन्न स्थानमा प्रचण्डको पुतला दहन गरिएको छ ।
उनले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर प्रथमतः हिन्दू धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनाको उपहास गरेका छन् । नेपालका सबै जातजातिले ढुङ्गा, माटो, रुख–बिरुवा, सू्र्य–चन्द्रमा आदिलाई पुज्ने गर्दछौँ । अतः प्रचण्डको अभिव्यक्ति यहाँका सबै प्रकृतिपूजक परम्परामाथि निर्मम प्रहार हो भन्दै नेपालगञ्जवासीले उनको पुतला दहन गरेका हुन् ।
यस्तै, वीरगंजमा स्थानीय जनसमुदायले हिन्दू विरोधी प्रचण्डलाई कारवाही गरियोस् भन्ने मागसहितको प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए । यहाँ पनि प्रचण्डको पुतलामा आगो सल्काउँदै उनको अभिव्यक्तिको विरोधमा चर्का नारा लगाइएका थिए ।
जनकपुरमा विरोध प्रदर्शनमा उत्रिएका समुदायले प्रचण्डको अभिव्यक्ति बारम्बार एउटै धर्मप्रति लक्षित रहेको बताउँदै, उनी इसाई अथवा मुसलमानबाट परिचालित हुनसक्ने आशंका समेत व्यक्त गरेका छन् । कथित राजनेता द्वारा पटक–पटक हिन्दूविरोधी वक्तव्य दिइनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको आम जनमानसको बुझाइ छ ।
सर्लाहीमा विरोध प्रदर्शन तथा पुतला दहन गर्न उत्रिएका युवा जमातले आगामी चुनावमा प्रचण्डको नेतृत्वमा रहेको दललाई समेत यस अभिव्यक्तिले घात पुग्ने बताएका छन् ।
सामाजिक सञ्जालमा समेत प्रचण्डको निकृष्ट टिप्पणीको चर्को विरोध भइरहेको छ ।
आफ्नोपनलाई सम्मान गर्नु, पूजा गर्नु चाहिँ अवैज्ञानिक र मार्क्स–लेनिन–माओको विचारको सिनोलाई बोकेर हत्या–हिंसा गर्दै हिँड्नु चाहिँ कुन आधारमा वैज्ञानिक भनी प्रश्न समेत उठिरहेको छ ।
आवश्यकता परे भैँसीको पूजा गर्न तम्तयार हुने प्रचण्डको द्वैध चरित्र र रुग्ण मानसिकताको समेत आलोचना भइरहेको छ ।