• २०८३ असार १६
  • 2026 June 30, Tuesday

उद्योगीको समय व्यापार विस्तारमा भन्दा उधारो असुलीमै बितिरहेको छ: वीरेन्द्र वहादुर बस्नेत

काठमाडौं । नेपालको कृषि क्षेत्र पछिल्ला वर्षहरूमा निकै उतारचढावको चरणमा छ । एकातिर किसानले उत्पादनको उचित मूल्य खोजिरहेका छन् भने अर्कोतर्फ उद्योगीहरू गुणस्तरीय स्वदेशी चामललाई आयातित उत्पादनसँग प्रतिस्पर्धी बनाउने प्रयासमा छन् ।

किसानले आफ्नो उत्पादनको मूल्य नपाउनेदेखि मल बीउको अभाव भोग्नुपर्ने समस्या पुरानै हो तर पछिल्लो समय उद्योगीहरूले समेत अर्को गम्भीर चुनौती भोगिरहेका छन् । किसानबाट धान किनेर उपभोक्तासम्म चामल पु¥याउने उद्योगीहरूले पनि एउटा गम्भीर समस्या भोगिरहेका छन् ।

पूर्वी नेपालको मोरङस्थित आरजु राइस मिलका सञ्चालक वीरेन्द्र बहादुर बस्नेत पनि अहिले यस्तै समस्याबाट गुज्रिरहेका छन् । उनका अनुसार अहिले धान-चामल उद्योगको सबैभन्दा ठूलो संकट उत्पादन, बजार वा कच्चा पदार्थ नभइ उधारो कारोबारबाट अड्किएको पूँजी हो ।

वर्षमा करिब १५ अर्ब रुपैयाँको बराबरको कारोबार गर्ने आरजु राइस मिलको करिब तीन करोड रुपैयाँ बजारमा फसेको पिडा बस्नेतले सुनाए । काठमाडौं, पोखरालगायतका विभिन्न सहरका होलसेलर तथा रिटेलरबाट उठ्न बाँकी रकमका कारण उद्योगलाई कानुनी र प्रशासनिक प्रक्रियामा जानुपरेको बस्नेत बताउँछन् ।

उनको भनाइमा चामल अन्तिम उपभोक्तासम्म पुग्दा नगदमा बिक्री हुन्छ । उपभोक्ताले तिरेको पैसा बीचका व्यापारीको तहमा अड्किँदा उद्योगीको पूँजी नै थुनिने अवस्था सिर्जना भएको छ । यही कारण उद्योगीले आफ्नो व्यापार विस्तारभन्दा बढी समय र ऊर्जा उधारो रकम असुलीमै खर्च गर्नुपरेको उनको गुनासो छ ।

बस्नेतका अनुसार नयाँ सरकार बनेपछि केही सहजीकरण गरेको अनुभव भए पनि उधारो असुली अझ प्रभावकारी बनाउन आवश्यक छ । पैसा नतिर्ने व्यापारीलाई प्रहरी प्रशासनमार्फत बोलाएर तत्काल भुक्तानी गराउने वा आवश्यक परे छिटो कानुनी कारबाही गर्ने संयन्त्र प्रभावकारी भए उद्योगीहरूलाई ठूलो राहत पुग्ने उनको विश्वास छ ।

उनका अनुसार अहिलेको ३ करोड रुपैयाँको समस्या समयमै समाधान गर्न नसकिए भविष्यमा यो अर्बौं रुपैयाँमा रूपान्तरण हुन सक्छ । त्यसैले यसलाई एउटा उद्योगको मात्र नभई समग्र व्यापारिक प्रणालीको चुनौतीका रूपमा लिनुपर्ने उनी बताउँछन् । आगामी दिनमा यस विषयलाई उद्योगीहरूको साझा अभियानका रूपमा अघि बढाउने तयारी पनि भइरहेको उनले बताएका छन् ।

उधारोको समस्याबीच पनि आरजु राइस मिलले किसानसँगको सम्बन्धलाई भने प्राथमिकतामा राखेको छ । बस्नेतका अनुसार उद्योगले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार किसानबाट धान खरिद गरिरहेको छ । त्यसैले किसानबाट उल्लेखनीय असन्तुष्टि नरहेको उनको दाबी छ । मलको अभावलाई भने उनले नेपालको मात्र नभई विश्वव्यापी समस्या भएको टिप्पणी गरे ।

आरजु राइस मिलको वार्षिक धान प्रशोधन क्षमता ३० देखि ३५ हजार टन रहेको छ । उद्योगले अब चामल उत्पादनमै सीमित नरही प्रशोधनपछि निस्कने कनिका र राइस ब्रानलाई उपयोग गर्ने पूरक उद्योग स्थापना गर्ने योजना अघि बढाएको छ । यसबाट उत्पादनको पूर्ण उपयोग गर्दै मूल्य अभिवृद्धि गर्ने लक्ष्य रहेको बस्नेतको भनाइ छ ।

बस्नेतको अर्को जोड स्वदेशी चामलको उपभोगमा छ । उनका अनुसार नेपाली चामल गुणस्तरका हिसाबले आयातित चामलभन्दा कमजोर छैन, बरु धेरै अवस्थामा अझ राम्रो छ । उत्पादन भएको खेतसम्म ट्रेस गर्न सकिने भएकाले विषादीको अवस्थाबारे पनि स्पष्ट जानकारी लिन सकिने उनी बताउँछन् ।

स्वास्थ्यका दृष्टिले पनि भातभन्दा रोटी सधैं राम्रो भन्ने धारणा वैज्ञानिक रूपमा सही नभएको उनको तर्क छ । चामल ग्लुटेन–फ्री खाद्य भएकाले सन्तुलित मात्रामा नेपाली चामल सेवन गर्नुपर्ने उनको सुझाव छ । पहिलेजस्तो थालभरि भात खाने संस्कार बदलिँदै गएको उल्लेख गर्दै उनले आवश्यक मात्रामा सन्तुलित आहारका रूपमा नेपाली चामललाई दैनिक भोजनमा समावेश गर्न आग्रह गरे ।

बस्नेतका अनुसार नेपालमा उत्पादित चामलले मूल्य र गुणस्तर दुवैमा आयातित चामलसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्छ । त्यसैले नेपाली उपभोक्ताले स्वदेशी उत्पादन रोजेमा किसान, उद्योग र राष्ट्रिय अर्थतन्त्र तीनै पक्षलाई प्रत्यक्ष लाभ पुग्ने उनको विश्वास छ ।

धान उत्पादनदेखि उपभोक्ताको भान्सासम्मको यात्रा केवल खेती र उद्योगको विषय मात्र होइन, व्यापारिक अनुशासन, समयमै हुने भुक्तानी र स्वदेशी उत्पादनप्रतिको विश्वाससँग पनि जोडिएको विषय हो । आरजु राइस मिलले उठाएको तीन करोड रुपैयाँ उधारोको मुद्दाले नेपालको कृषि–व्यवसायमा अझै व्यवस्थित व्यापारिक संस्कृतिको आवश्यकता रहेको संकेत गरेको छ ।