
काठमाडाैं । अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ। तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसहित पब्जी एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाइएको बताएका हुन् ।
मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिबन्ध लगाइएको अधिकारीहरुको भनाइ छ। प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागु हुने बताइएको छ ।
अफगानिस्तानमा टिकटक प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो । तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेबसाइट बन्द गरिदिएको थियो ।
तालिबान सरकारका सञ्चार मन्त्री नाजिबुल्लाह हक्वानीले भने, ‘हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेबसाइट बन्द गरेका छौँ, एउटा बन्द गर्यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।’