
काठमाडाैं । पछिल्लो राजनीतिक घटनाक्रमअनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा एमालेसंग तालमेल गर्ने भएको छ । यसका लागि लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा समिति गठन गरिसकेको छ ।
नागरिकता विधेयक प्रमाणीकरण नभएपछि राष्ट्रपतिसँग रुष्ट भएको लोसपा राष्ट्रपतिको बचाउमा उत्रिएको एमालेसँग गठवन्धनका लागि जानु मूल्यहीन राजनीतिको चरम नमूना हो । एमालेले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको विषयलाई लोसपाले समर्थन गरेको ठहर्छ ।
अर्कोतर्फ एमाले र राप्रपाबबीचको तालमेल पनि सिद्धान्तमा आधारित छैन । स्थानीय तह निर्वाचनमा कमल थापा नेतृत्वसँग राप्रपा नेपालसँग तालमेल गरेको एमालेले आसन्न चुनावमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र थापा नेतृत्वको राप्रपा नेपाल दुवैसँग गठबन्धन गर्दैछ ।
वर्तमान संविधानलाई उत्कृष्ट भन्दै राष्ट्रिय पर्वकारुपमा संविधान दिवस मनाउने एमालेले यो संविधान र गणतान्त्रिक व्यवस्था नै ढाल्ने लक्ष्य लिएको राप्रपासँग कुन नैतिक धरातलमा उभिएर गठबन्धन गर्दैछ ? झापामा राजेन्द्र लिङ्देन र केपी ओलीलाई चुनाव जिताउन उनीहरुले राजनीतिक सिद्धान्तको बली चढाएका छन् ।
अहिलेको सत्ता गठवन्धन त चरम सत्ता स्वार्थमा केन्द्रीत छ । यसको कुनै राजनीतिक सिद्धान्त र आदर्श छैन । भन्नलाई संविधान र गणतन्त्रको रक्षार्थ भनेपनि उनीहरुका गतिविधि कुर्सी प्राप्ती र राज्यसत्ताको भागवण्डामा मात्रै केन्द्रीत छन् ।
सिद्धान्ततः प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस र वामपन्र्थी पार्टीबीच गठवन्धन गर्नुपर्ने कारण देखिँदैन । उनीहरु एक अर्काका शत्रु पार्टी हुन् । विगतमा नेकपा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेर उसैलाई समाप्त पार्न एमालेसंग गठबन्धन गरेकै हो । पछि पार्टी पनि एकता भयो । प्रचण्डको इतिहास नै धोकापूर्ण छ । गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवा, केपी ओली, बाबुराम भट्टराईसम्म उनले सबैलाई धोका दिएका छन् । उनले अस्थिर नेताको परिचय बनाएका छन् ।
अहिले गठबन्धनमा बसेर पनि प्रचण्डले कांग्रेसविरुद्ध उपगठबन्धन बनाएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँग पार्टी एकताका लागि संयोजन समिति बनाइएको छ भने छुट्टिएर गएका र हाल नेपाल समाजवादी पार्टीको अध्यक्ष रहेका बाबुराम भट्टराई माओवादीमा फर्किने अन्तिम तयारीमा छन् । उनी माओवादीको हँसिया हथौडा निर्वाचन चिन्हमा चुनाव लड्दैछन् ।
शनिबार मात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले बाबुरामसँगको यात्रा अब धेरै लामो हुने बताए । यसले के देखाउँछ भने प्रचण्ड, बाबुराम र माधव फरक–फरक देखिए पनि एउटै हुन् । वास्तवमा यो गठबन्धन होइन, कांग्रेस र प्रचण्डको संयोजन मात्र हो । आफ्नो हात माथि पार्न कुनै पनि बेल प्रचण्डले कांग्रेसलाई धोका दिन सक्छन् ।
समग्रमा नेपालमा अस्तित्वमा रहेका कुनैपनि राजनीतिक दल सिद्धान्तको राजनीति गरिरहेका छैनन् । जीवनभर राजसंस्था भनेका कमल थापा गणतन्त्रवादी भए । वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै राजनीतिमा होमिएका रविन्द्र मिश्र राजावादी भए ।
आ–आफनो सुविधा र अनुकुलता हेरेर नेताहरु सिद्धान्त निर्माण गर्न थाले । कुनै राजनीतिक लाभ हुने स्थिति आए त्यसलाई उनीहरु तुरुन्त छाड्न पनि धक मान्दैनन् । उनीहरु खुल्लमखुल्ला कसरी पद प्राप्त गर्न सकिन्छ भन्नेमा मात्रै केन्द्रीत छन् । यसले के देखाउँछ भने जे जसरी हुन्छ, पदमा पुग, सिद्धान्तको अर्थ छैन ।
भन्न त आदर्श र सिद्धान्त बिना राजनीति हुँदैन भनिन्छ । तर आसन्न निर्वाचनसँगै नेपालका अधिकांश दलहरुको सैद्धान्तिक अवसान हुँदैछ । यसले गणतन्त्रकै अवसान त गर्ने होइन ? प्रश्न टड्कारो छ ।