काठमाण्डाै । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सधैँ सचेत रहनुपर्ने बताउनुभएको छ । नेता निधिले देशमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताउनुभएको हो ।
१५३ औँ गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली जनता परिवर्तनको पक्षमा उभिँदै त्यसलाई सदुपयोग गरेर देशको विकास र समृद्धिका लागि काम गर्न सक्षम रहेको भन्दै त्यसको अगुवाइ राजनीतिक दलहरूले गर्नुपर्ने स्पष्ट पार्नुभयो । नेता निधिले नेपालको मात्रै नभइ विश्वकै शान्ति, समृद्धि, विकास र मानव अधिकारको प्रवर्द्धनका लागि गान्धी विचाराधारा सबैभन्दा उत्तम बाटो भएको तर्कसमेत गर्नुभयो । आलोचकहरू पनि आज विश्वभर गान्धी र गान्धी विचारबाट प्रभावित हुँदै गएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली ल्याएका छौँ । यहाँ पनि बेलाबखतमा सुनिन्छ– दुर्घटना हुन्छ, के हुन्छ भनेर । हामी सबै सचेत हुनुपर्दछ । नेपाली जनता नेपालमा परिवर्तनको पक्षमा, परिवर्तनलाई जोगाउनका लागि र परिवर्तनको सदुपयोग गरेर यसलाई अझै राम्रो दिशामा लगेर देशको हितमा काम गर्नका लागि अब सचेत भइसकेका छन । राजनीतिक दल त्यसका लागि सधैँ सचेत रहनु पनि पर्दछ र अगुवाइ पनि गर्नुपर्दछ ।’
नेता निधिले गान्धी विचारधारा मार्क्स विचारधाराभन्दा पनि माथि रहेको जिकिरसमेत गर्नुभयो ।