• २०८३ असार ३
  • 2026 June 17, Wednesday

राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजाआजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको आठौँं दिन आज अष्‍टमीको अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेकी छन।

राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन्।
उनी नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन।

राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन। जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठमध्येको एक हो।

काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो। यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लागेको छ।