• २०८३ असार ३
  • 2026 June 17, Wednesday

प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेज नहुने

मतदाता परिचयपत्रको प्रिन्ट गल्ती भएको आयोगको प्रष्टीकरण

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उमेदवारी कायम रहने भएको छ ।

उनको उमेदवारीविरुद्ध परेको उजुरी कानूनसम्मत नदेखिएको भन्दै उमेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

मतदाता परिचयपत्रमा भएको जन्म मितिमा प्रिन्ट मिस्टेक भएको पाइएको उनकाे भनाइ छ ।

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् ।

नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको थियाे ।

देउवाको उमेदवारीविरुद्ध उजुरी दिने मल्ल नेपाली कांग्रेसका पूर्व डडेल्धुरा सभापति हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा देउवासहित ११ जना उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।