• २०८३ असार १७
  • 2026 July 01, Wednesday

कमजोर बन्दैछ मनसुन, केही दिनमा बाहिरिने

काठमाडौं ।  नेपालमा मनसुनी वायुको प्रभाव कमजोर बनेको छ।

प्रभाव कमजोर हुँदा अब भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यो वर्ष औसत मिति १३ जुनभन्दा अगावै भित्रिएको मनसुन औसत समयभन्दा पछिसम्म नै सक्रिय बनेको छ। अब एक दुई दिनमा मनसुन बाहिरिने देखिएको विभागका मौसमविद् हिरा भट्टराईले जानकारी दिए।

उनका अनुसार शनिबार बिहान देशका पश्चिमी भू–भागमा बादल छाएको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा हल्का पानी पर्नसक्ने मौसमविद् भट्टराइले बताए। उनका अनुसार पछिल्लो १२ घण्टामा देशका कुनै पनि भू–भागमा पानी परेको छैन।

राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।