• २०८३ असार १७
  • 2026 July 01, Wednesday

निर्वाचन आयोगले सञ्चारमाध्यमको अनुगमन गर्ने जिम्मा काउन्सिललाई दिने

काठमाण्डाै  । निर्वाचन आयोगले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री आचारसंहिता अनुसार भए–नभएको अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिने भएको छ ।

यसअघि सेना र प्रहरी समेत सहभागी गराएर प्रेस सेन्टर स्थापना गरेर अनुगमन गर्न लागेको आरोप खेपेको आयोगले अनुगमनका लागि काउन्सिललाई लेखी पठाउने निर्णय गरेको हो ।

आयोगको हिजो बसेको बैठकले पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै नियमित अनुगमन गर्न काउन्सिललाई लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ । सञ्चारमाध्यमको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकाले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताउनुभयो ।

यस्तै, आयोगले पत्रकार आचारसंहिताको दफा १२ मा काउन्सिलले चुनावका क्रममा पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गर्न सक्ने प्रावधान रहेकाले आसन्न चुनावका लागि आचारसंहिता जारी गरी त्यसको एक प्रति आयोगमा उपलब्ध गराउन पनि काउन्सिललाई आग्रह गरेको छ ।

यस्तै, आयोगले निर्माण गरेको संयन्त्रले जाँचबुझ गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा आयोगले लेखेर पठाएअनुसार कारबाही गरी त्यसको जानकारी आयोगलाई गराउन पनि काउन्सिललाई निर्देशन दिएको छ ।