• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अर्घाखाँची सिमेन्टले थाल्यो भारत निर्यात

भैरहवा। अर्घाखाँची सिमेन्टले २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको छ। कम्पनीले सोमबार २ दुई ट्रकमा सिमेन्ट निर्यात गरेको हो।

कम्पनीले भारतको युपी सहरमा सिमेन्ट निर्यात गरेको हो। युपीका सुभान्सु एसोशिएटले २ हजार बोरा सिमेन्ट खरिद गरेको हो।

कम्पनीले प्रतिबोरा २ सय ६५ रुपैयाँका दरले सिमेन्ट निर्यात गरेको हो। सिमेन्ट निर्यातको ट्रक बिदाई गर्दै कम्पनीका सञ्चालक पशुपति मुरारकाले आफ्नो लामो समयदेखिको सपना पुरा भएको बताए।

मुरारकाले भने ‘मेरो लामो समयदेखिको सपना पुरा भएको छ, यो कामले अझै विस्तार गर्दै जानेछ भनि विश्वास लिएको छु।’

उनका अनुसार नेपालमा सिमेन्ट उत्पादन भारतमा भन्दा महँगो पर्ने गरेको छ। तर चालु वर्षको बजेटबाट निर्यातमा अनुदान दिइएकोले निर्यात सम्भव भएको हो। उनले भने ‘सिमेन्ट निर्यातका लागि अर्को समस्या भनेको कोइला हो, यसमा सरकारले सहज गरिदिए १० देखि १५ रुपैयाँ प्रतिबोरा सस्तो पर्न जान्छ।’

अहिले व्यवसायीहरुले भारतको दोस्रो बजारबाट कोइला ल्याउन पाउनुपर्ने माग गरिहेका छन्। नेपाली उद्योगले थोरै परिमाणमा मात्रै कोइला आयात गर्ने भएकाले भारतको दोस्रो बजारबाट कोइला खरिद गर्दा सस्तो पर्न जान्छ।

argha3.jpeg

चालु वर्षमा सरकारले सिमेन्ट लगायत ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा गरेको छ। जसअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात अनुदान कार्यविधि संशोधन गरिसकेको छ।

अनुदान आउने भएपछि व्यवसायीहरुले भारतीय बजारमा निर्यातको बजार खोजी सुरु गरिरहेको छ। दुई महिनाअघि पाल्पा सिमेन्टले भारतमा निर्यात गरेको थियो।

दोस्रो कम्पनीले सिमेन्ट निर्यात गरेको हो। सिमेन्ट लिनका लागि साभान्सु एशोसिएटका सञ्चालक रोहित गुप्ता नेपाल आइपुगेका छन्। गुप्ताले नेपालसँग सीमा जोडिएका बिहार र युपी लगायत क्षेत्रमा सिमेन्ट उद्योग धेरै नभएकाले नेपालको सिमेन्ट निर्यात सम्भव भएको बताए।