काठमाडौँ । नेकपा एमालेले मंसिरको निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्र्णयसहित चुनावमा होमिएकाबेला सहयात्री दल जसपाले उपेन्द्र यादव प्रधानमन्त्री हुने दाबी गरेको छ ।
आगामी निर्वाचनमा एमाले पहिलो, कांग्रेस दोस्रो र जसपा तेस्रो दल हुने दाबी गर्दै जसपाले एमालेको सहयोगमा यादव प्रधानमन्त्री हुने जनाएको हो । हुलाक संचारसंग कुरा गर्दै जसपा नेता एवम ओखलढुंगा प्रदेश (ख) का उम्मेदवार शान्तबहादुर घताल (प्रदीप) ले यादव र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने परिस्थिति निर्माण भैरहेको जानकारी दिए ।
नेता घतालले सत्ता गठवन्धनका नेताहरुले जसपालाई सिध्याउन खोजेकाले बाध्य भएर एमालेसंग तालमेल गर्नुपरेको बताए । जसपा अलग हुनुमा गठवन्धनका प्रमुख दुई नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल जिम्मेवार भएको उनको आरोप छ ।
नेकपा एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगमनकारी भनेर आरोप लगाउनु अन्यायपूर्ण भएको घतालको भनाइ छ । कुनै कालखण्डमा कुनै दल वा पार्टीले गल्ती गर्यो भन्दैमा जीवनभर त्यसैलाई बोकेर आरोपित गर्न नहुने घताल बताउँछन् ।
ओखलढुंगामा जसपाले प्रतिनिधि र प्रदेशसभाका दुवै पदमा एकल उम्मेदवारी दिएको छ । केन्द्रमा जुद्ध ढाक्रे र प्रदेश क मा खेमराज खड्का र प्रदेश ख मा शान्तबहादुर घताल रहेकाछन् । घतालले आफूसहित तीनैजना उम्मेदवार निर्वाचित हुने दाबी गरे ।
विस्तृत भिडियोमा