• २०८३ असार ४
  • 2026 June 18, Thursday

मलाई जिताउन ललितपुर २ का मतदाताले भित्रभित्रै सल्लाह गरिसके (भिडिओसहित)

काठमाडौं । डा. दिपेस केसी ललितपुर क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार हुन् । प्रमुख दलका प्रमुख नेताहरु माफियाको चंगुलमा फसेपछि मुलुक उँभो लाग्न नसकेको निष्कर्ष निकाल्दै आफू चुनावी मैदानमा उत्रिएको उनी बताउँछन् ।

दलका नेताहरुले माफियाको इशारामा मुलुक चलाउने र त्यसकै आधारमा राजनीतिक सिण्डिकेट लादिरहेकाले विद्रोहको आवश्यकता भएको केसीको भनाइ छ ।

हुलाक संचारसंग कुरा गर्दै डा. केसीले मुलुकलाई चार–पाँच जना नेताहरुको पञ्जाबाट मुक्त गर्नुपर्ने धारणा राखे । यसको अभियानस्वरुप देशभर स्वतन्त्र उम्मेदवारहरु खडा भएको उनको दाबी छ ।

दलमा आबद्ध युवा नेताहरुले विद्रोह गर्न नसकेपछि आफूहरुले बाहिरैबाट भएपनि उम्मेदवारी दिएर मुलुकलाई त्राण दिने प्रयास गरेको उनी बताउँछन् ।

मुलुकमा देशभक्त, इमान्दार र नैतिकवान नेताहरुलाई छानीछानी सिध्याउने गरिएको दृष्टान्त दिँदै उनले इम्बोइष्ड नम्बर प्लेटविरुद्ध बोलेकोमा एमाले नेता भीम रावललाई पाखा लगाइएको दाबी गरे । निष्ठावान र देशभक्त नेता भएका कारण विगतमा कृष्णप्रसाद भट्टराईलाई चुनाव हराइएको केसीको जिकीर छ ।

नेता केसीले मुलुकको विकास र समृद्धिका लागि युवा नेतृत्व आवश्यक भएको र यसका लागि देशभरका युवा नेताहरुले आ–आफनो पार्टी भित्र विद्रोह गर्नुपर्ने उनको सुझाव छ ।
स्थानीय तहको निर्वाचनमा काठमाडौंमा बालेन्द्र शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमालको जित दलका नेताप्रतिको वितृष्णा र अविश्वास भएको जनाउँदै केसीले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि चमत्कार हुने दाबी गरे ।

ललितपुर २ का वासिन्दाले आफूलाई जिताउन भित्रिभित्रै सल्लाह गरिसकेको बताउँदै केसीले आफना प्रतिष्पर्धी सत्ता गठवन्धनका कृष्णलाल महर्जन र एमालेका प्रेम महर्जनलाई खुला बहसमा आउन चुनौतीसमेत दिए ।

पदमा नरहँदासमेत आफूले ललितपुर २ मा सम्झिनयोग्य काम गरेको बताउँदै केसीले जिल्लामा व्याप्त खानेपानी समस्या, नदी र ढल व्यवस्थापन, सार्वजनिक यातायात, खेल स्थल निर्माणमा बढी ध्यान दिने बताए ।

विस्तृत भिडिओमा