‘स्पाइनल इन्जुरी’ भएकी लक्ष्मी घिमिरे बनिन् प्रदेशसभा सांसद

काठमाडौं । स्पाइनल इन्जुरी भएकी लक्ष्मी घिमिरे प्रदेशसभा सदस्य (सांसद) बनेकी छिन् ।

स्पाइनल इन्जुरी भएकी घिमिरेलाई राप्रपाले बागमती प्रदेशमा समानुपातिक सांसद बनाएको हो । उनी स्पाइनल इन्जुरी भएकी पहिलो समानुपातिक सांसद हुन् ।

रामेछापकाे गाेकुलगंगामा जन्मिएकी २८ वर्षीया घिमिरे यसअघि विभिन्न सामाजिक कार्यमा अग्रसर थिइन् ।

ह्वीलचियर बास्केटबलकाे नेशनल क्यापटेनसमेत रहेकी घिमिरेले काेरियामा युनाटेड नेशनले आयाेजना गरेकाे ‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि’मा नेपालकाे प्रतिनिधित्व पनि गरेकी थिइन् ।

उनी १५ वर्षकी हुँदा भीरबाट लडेर ‘स्पाइनल इन्जुरी’ भएकी थिइन् । उनले नेपालमा अपांगता भएका व्यक्तिहरुकाे अधिकारका लागि लामाे समयदेखि आवाजसमेत उठाउँदै आएकी छन् ।

उनी राप्रपा प्रवेश गर्नुअघि रविन्द्र मिश्र अध्यक्ष रहेकाे विवेकशील साझा पार्टीकाे केन्द्रीय सदस्य रहेकी थिइन् । अध्यक्ष रविन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएर राप्रपा प्रवेश गर्दा घिमिरे पनि सँगै राप्रपामा प्रवेश गरेकी थिइन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७