काठमाडौं:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना सकिएको बताएका छन्।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आायाेजना गरेको कार्यक्रममा उनले प्रचण्डले निर्णय गर्न ढिला गरेकाले प्रधानमन्त्री हुने सम्भावना समाप्त भएको बताएका हुन्।
‘कतिपय जो इच्छा गरिरहेका छन । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नु भयो । निर्णय गर्न ढिलो गर्नुभयो । संस्कृतिमा एउटा भनाई छ–आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ । त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नु पर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाइदिन्छ । यदि तपाईले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैँ झरेर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हुने अव उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन । अरूले पनि समयमा कदम चालेनन् भने समयमा आफू आफूलाई मात्रै हेरे भने देश फेरी घुमी फिरीकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ । जाँदैन भन्न सकिँदैन । किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने अनि सञ्चालन कसरी होला ? नेकपा एमाले मात्रै हो हैसियत छ । राष्ट्रिय स्वार्थ बाहेक दलगत स्वार्थ छैन ।’ ओलीले भने।
