काठमाडौं। नयाँ सरकार गठनका लागि बहुमत सांसद संख्याको दाबीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् ।
ओली निवास बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने ५ दलबीचमा सहमति भएसँगै आइतबार पाँच बजेअघि प्रचण्डसहितका नेताहरू शीतल निवास पुगेका हुन् ।
प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । जसअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ ।
प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।
कांग्रेसले पहिलो कार्यकालको प्रधानमन्त्री दिन नमानेपछि प्रचण्ड एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए । ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति जुटेको हो।
