• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राप्रपाले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन गर्नुपर्छ (भिडियोसहित)

काठमाडाैं । राप्रपाका वरिष्ठ नेता एवम पूर्वमन्त्री जगत गौचनले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर राप्रपा आन्दोलनमा जानुपर्ने बताएका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता गौचनले भने, ‘जसले यो देशमा राजालाई मार्नुपर्छ भनेर गणतन्त्र ल्यायो, हिन्दु धर्म मासेर धर्मनिरपेक्षता ल्याएरमुलुक वरवाद बनायो, आज उसैको सरकारलाई समर्थन गर्नुभनेको गलत र अनैतिक काम हो । राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता गरेर आन्दोलनमा जानुपर्छ ।’

नेता गौचनले पार्टीको मुल नीति र व्यवहार मेल नखाएको भन्दै यो विषयमा आउँदो केन्द्रीय समिति बैठकमा कुरा उठ्ने बताए । अहिलेको सरकारलाई समर्थन गर्नु, सरकारमा सहभागि हुनु भनेको आत्मघाती कदम भएको उनी बताउँछन् ।

राप्रपामा पनि केही पद लोलूपहरु भएको र तीनको घेराबन्दीमा अध्यक्ष राजेन्द्र लिङ्देन परेको हुनसक्ने उनको आशंका छ ।

वर्तमान प्रधानमन्त्री प्रचण्डले पदका लागि राजनीतिक मूल्य, मान्यता, इमान, नैतिकता सबैको बली चढाएको बताउँदै उनले प्रचण्डले देश र जनताका लागि केही गर्न नसक्ने दाबी गरे । प्रचण्डलाई सत्ता भए अरु केही नचाहिने र कुर्सीका लागि उनले कसैलाई पनि घात गर्नसक्ने उनको भनाइ छ ।

अहिलेको सत्ता गठवन्धन अप्राकृतिक, अपवित्र तथा चीनको इशारामा बनेकाले कुनै पनि बेला दुर्घट्नामा पर्नसक्ने गौचनको दाबी छ । अमेरिका र भारतले प्रचण्ड नेतृत्वको सरकारलाई नरुचाएको उनको जिकीर छ ।

रवि लामिछाने नेतृ्त्वको पार्टी क्रिश्चियनहरुको प्रभावमा परेको गौचनको आरोप छ । उनी भन्छन्, ‘रविको घण्टी पशुपतिनाथमा बज्छ कि चर्चमा त्यो हेर्न बाँकी छ ।’

मातृभूमिप्रति बेइमानी गरेका प्रचण्ड आफ्नै पार्टीका नेता कार्यकर्ताप्रति पनि इमान्दार नभएको गौचनको आरोप छ । ओली र प्रचण्डबीच राष्ट्रपति चयनपछि विवाद चर्किने र त्यसपछि सरकार ढल्न सक्ने उनको निष्कर्ष छ ।