• २०८३ असार १९
  • 2026 July 03, Friday

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल निर्विरोध चयन

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल निर्विरोध चयन भएका छन् । बिहीवार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो ।
उत्तमकुमार नेपाल, कल्याण गुरुङ र दीलिप शेखर श्रेष्ठलाई सञ्चालक समिति सदस्यमा निर्विरोध चयन गरेको थियो । १३औं वार्षिक साधारण सभाले  नयाँ सञ्चालक समिति गठन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन् । लामो समयको मलेसिया बसाइका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।