टिकटकमार्फत् अर्काे विकृति : लाइभ बसेर जुवातास !

काठमाडाैं । ‘नखेल्नु जुवा र तास, धनको नाश, जीवनको वनबास’ भन्ने एउटा पुरानो गीत छ । जुवातास खेल्नु/खेलाउनु अपराध हो ।

यतिबेला सामाजिक सञ्जाल टिकटकमा लाइभ बसेर तास खेलाउने क्रम तीव्र रुपमा बढीरहेकाे छ । समाजमा जुवा/तास नियन्त्रणमा सक्रिय प्रहरी भने सामाजिक सञ्जाल टिकटकमा खेलिने/ खेलाइने तासबारे बेखबर छ ।

सामाजिक सञ्जालमा जुवातास खेल्न पाइन्छ/पाइँदैन यो जुवातास ऐनमा प्रष्ट छैन ।

सामाजिक सञ्जाल ‘टिकटक’ पछिल्लो समय सर्वप्रिय सञ्जाल बनेको छ । छोटा भिडियो पोस्ट गर्न पाइने र आफ्नो प्रतिभा प्रस्तुत गर्ने उत्कृष्ट प्लेटफर्म पनि हो । यसबाट धेरैले राम्रा र सकारात्मक काम पनि गरेका छन् । तर कतिपयले यो माध्यमलाई जुवातास खेल्ने जुवाघर नै बनाइसकेका छन् ।

एकाबिहानै म टिकटक खोलेर भिडिओहरु हेरिरहेको थिएँ । हेर्दै जाँदा एक व्यक्तिले तास खेलाइरहेका थिए । जहाँ ५ जना अन्य व्यक्तिहरु सहभागी थिए । उनको टिकटक अकाउन्टको प्रोफाइल तस्बिरमा नै तास छ । उनले तास खेल्न आह्वान गरिरहेका थिए ।

जहाँ एकपटक हार्दा ५० रुपैयाँ जाने र जिते २५० रुपैयाँ आउने रहेछ । अझै हेर्दै जाँदा अर्का एक जनाले तास खेलाइरहेका थिए । जहाँ एकपटकमै ५०० रुपैयाँ जाने रहेछ । यो क्रम राति बढ्ने रहेछ धेरै मानिसहरु फूर्सदमा हुने भएर होला, सायद ।

टिकटकमा तास खेलाउन लाइभमा आएका एक व्यक्तिले भनिरहेका थिए ‘५०० रुपैयाँ इसेवा वा बैंक एकाउन्टमा ट्रान्सफर गरेर खेल्न आउनुस् ।’ उनको टिकटक लाइभको कमेन्टमा अन्य प्रयागकर्ताले सहभागी हुने तरिका र रकम पठाउने माध्यम सोधिरहेका थिए । यो लहर हेर्दै जाँदा करिब १ दर्जन टिम टिकटक लाइभमै तासमा झुम्मिरहेका थिए ।

तास खेलाउने व्यक्तिलाई डबल फाइदा हुने रहेछ । किनकी आफूले रकम खर्चिन नपर्ने, जितिहाले आफ्नो खातामा रकम ‘प्लस’ हुने रहेछ । टिकटक लाइभमा तास खेलाउनेको क्रेज लोभलाग्दो देखिन्छ । तास खेल्न सहभागी जनाउनेको उत्साह पनि उत्तिकै छ । जमघट बिना, भाैतिक उपस्थिति विना नै र हिसाबकिताब स्वयं खेलाउनेको जिम्मामा रहेकाले झन्झट पनि भएन । जितेको खण्डमा आफ्नो बैंक खाता वा इसेवामा नगद आउँछ, हारेमा जान्छ । नगदको आवश्यक परेन बैंकिङ सिस्टमबाट रकम आदनप्रदान गर्न सकियो ।

नेपालमा जुवातास, सट्टाबाजी, च्याँखे थाप्ने तर पनि यसको पूर्ण रुपमा नियन्त्रण भएको छैन । प्रहरीले पक्राउ गरी नियमानुसार कसुर सजाय पनि दिइरहन्छ । लुकिछिपी त समाजमा यी गतिविधि गरिन्छ नै तर खुलेआम सामाजिक सञ्जाल (टिकटक) मा जुवातास खेल्दा सम्बन्धित निकाय माैन छन् । यसले गर्दा खेल्ने खेलाउने अझ जुर्मुराएकाे देखिन्छ । यसले आगामी दिनमा ठूलाे समस्या निम्त्याउन सक्ने प्रष्ट छ ।

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ । २०७५ साल भदौदेखि लागू भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजायकाे व्यवस्था गरिएकाे छ । उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएकाे छ ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन ।

भाैतिक रुपमा खेल्दा नियम लाग्ने तर अनलाइन खेल्दा नलाग्ने किन ? यसमा सम्बन्धित निकायको ध्यान गएकाे देखिदैन । सामाजिक सञ्जालमार्फत भित्रिएकाे यस्ताे विकृतिमा सम्बन्धित निकायकाे ध्यान जान जरुरी छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७