महाभारत राजनीति र रवि लामिछाने

पाण्डवहरुको गुप्तबास सकिने बेलामा उनीहरु लुकेर बसेको मत्स्य देशमा कौरवहरुले गाई लुटेर युद्दको धाबा बोले । राजा विराट र सेना सबै अर्कै युद्दमा गएको मौका पारी कौरवहरुले यो हमला गरेका थिए । दरबारमा यो खबर आएपछि राजकुमार उत्तरकुमारलाई निकै रिस उठ्यो । राजाको छोरो पुल्पुलिएर हुर्केको हुनाले काँचो दम्भ प्रष्टै थियो युवराजमा । कोही सारथि पाए एक्लै गएर युद्द गरेर कौरव सेनालाई हराइदिने भनेर दरबारमा भएका महिला र नाबालकहरुबीच बढो बहादुरीबीच निकै बालहठ देखाउन थाले । उनलाई भीष्म, द्रोण, कर्णसहितको दुनियाँ जित्न सक्ने कौरव सेनाको तागतको बारेमा केही हेक्का र ज्ञान थिएन ।

दरबारमा सबै महिला र बालबच्चा मात्रै भएको हुनाले उनलाई सम्झाउन सक्ने कोही थिएनन् । आफ्नो एक वर्षे गुप्तवास पूरा गर्न नारी भेषमा दरबारमा नाच सिकाइरहेका अर्जुनले यो कुरा नियालिरहेका थिए । गुप्तवास सकिएको सही समयमा कौरबसँग बदला लिने मौका छोपेर त्यो बालहठी राजकुमारलाई आफूले रथ हाँकेर सहयोग गर्ने भनेर आग्रह गरे । शुरूमा उत्तरकुमारले सामान्य नपुंसक नारी भनेर इन्कार गरे पनि धेरैले सम्झाएपछि सहमतिमा आएर छद्मभेषी अर्जुनलाई सारथि बनाएर कौरव सेनासँग युद्द गर्न निस्के । तर उनलाई पाण्डुपुत्र वीर अर्जुन आफ्नो सारथि हुन् भन्ने कुनै कल्पना पनि थिएन । विचरा १७।१८ वर्षको काँचो बालक राजाको छोरो त्यत्रो झकिझकाऊ कौरवको सेना देखेर असिनरपसिन भयो ।

अर्जुनले रथ जब नजिकनजिक पूर्‍याउन थाले उ त्यति नै गल्दै गयो । उसले अर्जुनलाई रथ फर्काएर भाग्न अनुनय विनय गर्‍यो तर अर्जुनले मानेनन् । उ रथ नै छोडेर भाग्न आँटेपछि अर्जुनले एकान्तमा लगेर आफ्नो सबै वास्तविकता खोलेर परिचय दिए । केटो बल्ल ढुक्क भयो । त्यसपछि तिनै राजकुमारलाई सारथि बनाएर पराक्रमी अर्जुनले कौरवहरुको सेनालाई तितरवितर पारेर भगाए । लुटिएका सबै गाइहरु फिर्ता ल्याइदिए । नेपाली राजनीतिमा यी रवि लामिछाने पनि त्यही उत्तरकुमार जस्तै हठी पात्र हुन् । कौरव अवतार धारण गरेर देशमा अन्याय र असत्यको राज्य चलाइरहेका र बारम्बार आलोपालो दुर्योधन बन्ने होडबाजीमा रहिरहेका देउवा, प्रचण्ड र ओलीसहितका सयौँ भाइ कपटी नेपाली राजनीतिका कौरवहरुको अगाडि यी रविको पनि केही चल्ने वाला छैन । असत्य हो, भन्ने जान्दाजान्दै दुर्योधनसँग मित्रताको हात फैलाउने महाभारतका कर्ण ब्यक्तिगत रुपमा ठीक थिए तर कर्णको साथ पाएपछि दुर्योधनमा मात चढेको थियो । दुर्योधनको मातले हस्तिनापुर राज्य र समग्र कुरूवंश जसरी नाश भएको थियो ठ्याक्कै उस्तै यी रविको साथ पाएपछि दुर्योधनको भेष धारण गरेका नेपालका ठूला पार्टीका बुढा नेताहरु देशलाई स्वाहा पार्न अझै बलियो भएका छन् ।

मौकामा चौका हानेर त्यति ठूलो पदमा पुगे पनि कसरि हात खुट्टा बाँधेर रविलाई काममा लगाउनुपर्छ नेपालका कौरवहरुलाई राम्रोसँग थाहा छ । हिजो टिभीमा कराउँदा बालुवाटारको जग्गाको स्टिङ अपरेशनु चलाएर भ्रष्टाचारीलाई तह लगाउँछु भन्ने लामिछाने अहिले उक्त भ्रष्ट्राचार मुद्दामा मुछिएका विष्णु पौडेलसँग एउटै हलमा सँगसँगै बरीयतामा नारिएका छन् । बाको पुस्ताले देश चलाउन नसक्ने भनेर कुर्लिने गरेका रवि अहिले तिनै बाको टाङमुनि छिरेर आफ्नो दुनो साझो पारिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिन गृहमन्त्रीसँग एउटै प्यानलमा बसेका अपराधिलाई पक्राउ गर्न भोलिपल्ट मात्र आदेश दिन्छन् रवि ।

मधेशका साना दल जो च्याँखे थापेर पटक-पटक मन्त्री हुँदा टीभीमा रविले कुर्लँदैै गरेका राष्ट्रवादका कुरा अनि चित्रबहादुर केसी संसदमा पार्टीको २ सिटसहित सरकारमा उपप्रधानमन्त्री बन्दा जनमतको अपहेलना भयो, सरकारमा जान बहुमत ल्याउनुपर्छ भन्दै टिभीमा केसी बाको खिसिटिउरी गर्ने उही रवि आज जम्मा २१ सिट जनमत ल्याएर २८० सिटको राजा गृहमन्त्री बनेर देश चलाउन सुहाउँछ रु कति हतार छ यिनलाई ! नाकको डाँडी भाँच्ने कुराको प्रसंग त यहाँ नजोडौँ होला । भाँच्न सकेछन् भने राम्रो । देशमा लाखौँ नागरिकले ज्यानको बाजी लगाएर जंगल, सडक र सदनमा परिवर्तन र गणतन्त्रको घण्टी बजाइरहेको ६२/६३ सालको समयमा २८/३० वर्षको शिक्षित युवा डलरको मोहमा देशको नागरिकता र राष्ट्रियतासमेत परित्याग गरेर अमेरिकामा डलर गन्ने डलरवादी रवि आज कसरी राष्ट्रवादी हुन सक्छन् ।

अझ देशमा बस्न सुरक्षा खतरा भएको भन्दै शरणार्थी निवेदन दिएको हल्ला पनि चलिरहेको छ । भाँचिएको हात एकपटक निको भए पनि बारम्बार दुखाइ बल्झिरहेको हुन्छ यी रविको अहिलेको खोक्रो राष्ट्रियता पनि त्यस्तै हुनसक्छ । मन्त्री भएको महिना नबित्दै ठाडो आदेशमा आफ्नो फाउण्डेशनमा राज्यको ४ करोड रूपैयाँ कुम्लो पारेका यिनले पूरा कार्यकाल ५ वर्ष बिताए भने कति कूम्लो पार्छन् अथवा पार्दैनन् हेर्न बाँकी नै छ । गणतन्त्र राजतन्त्र र राज्य संरचनामा आफ्नो स्पष्ट अडान बिना नै दलहरुले पकाएको मिक्स खिचडीको स्वादमा मुख मिठ्याउन रविले हतार गरेकै हुन् । साँच्चिकै महाभारतको उत्तरकुमार जस्तै पात्र भए पनि यी रविलाई बचाउन न अर्जुन नै आउनेछन् न यिनले जनताको आँखामा हालेको छारो रहिरहने छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७