काठमाडौं महानगरपालिकाले निर्माण र कृषिको बजेट घटाउने, शिक्षामा बढाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटका कार्यक्रम संशोधन प्रस्ताव ल्याएको छ । १२ औं नगर सभाबाट चालु आर्थिक वर्षको बजेटका कार्यक्रम हेरफेर गर्न संशोधन प्रस्ताव ल्याएको हो ।

नगरसभा बैठकमा उपप्रमुख सुनीता डंगोलले सार्वजनिक निर्माण, वातावरण र कृषि क्षेत्रमा बजेट घटाएर सामाजिक विकास, शिक्षा लगायत क्षेत्रमा बजेट बढाउन प्रस्ताव गरेकी हुन् ।

महानगरले चालु आर्थिक वर्षमा सार्वजनिक निर्माणमा ८ अर्ब ३१ लाख रुपैयाँ सार्वजनिक निर्माणमा बजेट छुट्याएको थियो । जसमध्ये ९ करोड ४९ लाख घटाउन संशोधन प्रस्ताव गरेको छ । चालु आर्थिक वर्षको लागि सामाजिक विकासमा ४४ करोड १२ लाख विनियोजन भएकोमा २० करोड थप गरी ६४ करोड १२ लाख रुपैयाँ बनाउन प्रस्ताव भएको छ ।

डंगोलले सम्पदा तथा पर्यटन विकास विनियोजित २ अर्ब ५३ करोड १८ लाखमध्ये ६४ करोड ६२ लाख घटाएर २ अर्ब १८ करोड ५६ लाखमा झार्न प्रस्ताव गरेकी छिन् । शिक्षामा ४६ करोड ५८ लाखको बजेटमा महानगरले संशोधन प्रस्ताव राख्दै ७ करोड ५ लाख थप गरेर ५३ करोड ६३ लाख बनाउन नगर सभामा पेश गरेको छ ।

स्वास्थ्य तथा पशु क्षेत्रमा महानगरले विनियोजन गरेको ५७ करोड ३ लाखमा १७ करोड ६८ लाख थप गरी ७४ करोड ७१ लाख बनाउन उपप्रमुख डंगोलले प्रस्ताव गरेकी छिन् । यस्तै वातावारण तथा कृषि क्षेत्रमा ५६ करोड १५ लाख विनियोजन भएकोमा १ करोड ५ लाख घटाएर ५५ करोड १० लाख रुपैयाँमा झार्न प्रस्ताव भएको छ ।

यस्तै कानुन तथा मानव अधिकारतर्फ ४ करोड २७ लाख विनियोजन भएकोमा ६० लाख थप्ने प्रस्ताव महानगरले गरेको छ । महानगरले २ अर्ब ७२ करोड, ६९ लाख रुपैयाँ संशोधन प्रस्ताव नगर सभामा पेश गरे पनि कुल विनियोजित बजेटमा भने हेरफेर नहुने उपप्रमुख डंगोलले सभामा जानकारी गराएकी छिन् ।

काठमाडौं महानगरपालिकाले २४ असारमा चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट पारित गरेको थियो । यो आर्थिक वर्षको लागि महानगरले ल्याएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७