काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज भएको यति एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले दुर्घटनाको तत्कालै प्रभावकारीरूपमा उद्धार गर्न सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन कांग्रेसका स्थानीय कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गर्नुभएको छ ।
काठमाण्डौबाट पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको उहाँले बताउनुभएको छ ।
काठमाण्डौबाट ६८ जना यात्रु लिएर उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सेती नदी किनारमा दुर्घटना भएको थियो ।