काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराती मन्त्री हुने भएका छन् । मंगलबार विस्तार हुन लागेको मन्त्रिपरिषदमा माओवादीले उनलाई पर्यटन मन्त्री बनाउने भएको छ।
मंगलबार बिहान आफू मन्त्री बन्न लागेको कुरा किरातीले आफ्ना ७५ वर्षका बुवालाई सुनाए ।
उनका बुवा हर्कबहादुर राई प्यारालाइसिसका कारण अहिले ओछ्यानमै छन् । बेलायती सैनिकमा भर्ती भएका हर्कबहादुरले फकल्यान्ड युद्ध पनि लडेका थिए । छोराको कुरा सुनेर बुवा हर्कबहादुर भावुक बने ।
भोजपुरका सुदन किराती माओवादी सशस्त्र युद्धमा भूमिगत भएका थिए। झन्डै १ वर्ष उनी जेल परेका थिए । पहिलो संविधान सभा, २०७४ र अहिले गरी उनी तेस्रो पटक सांसद बनेका छन् ।
पहिलो पटक मन्त्री बन्न लागेपछि किरातीले बुवासँग भएको कुरा सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।
म- बुवा म मन्त्री हुने भए छु।
बुवा – हँ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो?
म – हो बुवा साँच्चै हो बिपना नै हो। (संस्कृति,पर्यटन तथा नागरिक उड्डयन)
बुवा- मन्त्री चाहि कसरी भइस? कसले गर्दा भइस्?
म – पहिलो त तपाईंहरूले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दु:ख गरे, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्यो।
बुवा- राम राम राम ! म उहिले फकल्यान्डको लडाइँमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिन थें!
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो…।
बुवा- हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौं, राम्रो गर्नू।
म – पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो। म मेहनेत गर्छु। आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी सँगै हुन पाएको भए…।
बुवा- म गएपछि तेरो आमा सँग भेट हुन्छ नै होला म सबै भनिदिउँला। बुवा रूनु भो! म…!
सम्झे!
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रूनु भएको थियो। आज पनि उस्तै रूनुभयो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाव भने फरक।