• २०८३ असार २०
  • 2026 July 04, Saturday

पोखरा विमान दुर्घटना : पहिचान नभएका शव आज काठमाडौं ल्याइने

काठमाडौं । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव मंगलबार हेलिकप्टरबाट काठमाठौँ ल्याइने भएको छ।

दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेकामा पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार बिहान ८ बजे काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि लगिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।

उनकाअनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ।

पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौँबाट गएका फरेन्सिक विभागका चिकित्सकहरुले दिएका छन्।

शव काठमाडौं ल्याउन सोमबार सेनाको हेलिकप्टर पोखरा पुगेको थियो।