‘प्रचण्ड’ नेतृत्वकाे सरकारमा उप-प्रधानमन्त्रीकाे लस्कर !

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि तीन उपप्रधानमन्त्री नियुक्त भइसकेकाे प्रचण्ड नेतृत्वकाे सरकारमा अझ एक उपप्रधानमन्त्री थपिएका छन् ।

प्रचण्ड नेतृत्वकाे सरकारमा चारजना उपप्रधानमन्त्री भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा समावेश हुने भएपछि प्रचण्ड नेतृत्वकाे सरकारमा चारजना उपप्रधानमन्त्री भएका हुन् ।

अब, अर्थमन्त्रीसहित उपप्रधानमन्त्री बिष्णु प्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्रीसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीसहित उपप्रधानमन्त्री रवि लामिछाने, उर्जामन्त्रीसहित उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन भएका छन् ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारमा ६ जना उपप्रधानमन्त्रीसहितकाे मन्त्रिमण्डल विस्तार भएकाे थियाे ।

यस्तै, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबाट मन्त्री बनेका छन् । उनीहरुले मंगलबार दिउँसाे शपथ ग्रहण गरेका छन् ।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ । माओवादीले ३ वटा पाएको छ ।

रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ । जसपा बाँकी राखेर मन्त्रिमण्डल विस्तार गरिएकाे छ ।

त्यस्तै, जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।

नेकपा एमालेले हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्यमन्त्री बनाएको छ ।

यसैगरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।

यस्तै, राप्रपाबाट ध्रुबहादुर प्रधान कानून मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रममन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् ।

नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी, संस्कृतिक पर्यटन राज्यमन्त्रीमा सुशीला श्रीपाली नियुक्त भएकी छन् ।

जनमत पार्टीका अब्दुल खान पनि मन्त्री भएका छन् ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७