राजेन्द्र लिङ्देनकाे ‘भ्रष्ट्राचार कसम’ र शहरी विकास मन्त्रीमा विक्रम पाण्डेकाे नियुक्ति !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन जहिले पनि भाषणका क्रममा भ्रष्ट्राचारकाे विराेध गर्ने गर्छन् । उनले गएकाे पुस ७ मा सांसदको शपथ खाँदा ‘भ्रष्टाचार गर्नु आमाको रगत खाए सरह’ हुने भन्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

राप्रपा पार्टीकाे मूल मन्त्र नै ‘भ्रष्ट्राचार शून्य’ बनाउने छ । प्रत्येक समय विभिन्न सभा समाराेह तथा सार्वजनिक कार्यक्रममा बाेल्दा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन यही विषयमा बाेल्छन् । उनीमात्र हाेइन उनका पार्टीका अधिकांश नेताहरु भ्रष्ट्राचार विराेधि अभियानमा सक्रिय छन् । उनीहरु बाेल्दाखेरी भ्रष्ट्राचारकाे शसक्त विराेध गरिरहेकाे सुन्न सकिन्छ ।

चुनावअघि राप्रपाबाट टिकट लिने प्रतिस्पर्धिलाई भ्रष्ट्राचार नगर्ने कसम खुवाएका लिङ्देनले मंगलबार उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीकाे शपथ लिएपछि आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुसमेत लिएर पशुपतिनाथ मन्दिर पनि पुगे ।

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि भ्रष्ट्राचार नगर्ने प्रतिबद्धता दाेहाेर्‍याउन पशुपतिनाथ पुगेका हुन् । तर उनकाे बाेलाइ र गराइ अलि फरक देखिएकाे छ । मंगलबार उनले भ्रष्टाचार कसुरमा मुद्दा खेपिरहेका ठेकेदार पृष्ठभूमिका सांसद विक्रम पाण्डेलाई शहरी विकास मन्त्री बनाएका छन् ।

पाण्डे राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचारको आरोप लागेका व्यक्ति हुन् । उनले त्यो अर्बौँ घोटलाको मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन् तर १८ वर्षसम्म निर्माण सम्पन्न नभएको सिँचाई आयोजनामा बदमासी कसको हो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन ।

पाण्डेको निर्माण व्यवसाय अहिले उनका छोरा निकोलस पाण्डेले हेरिरहेका छन् । चितवन ३ बाट निर्वाचित पाण्डे भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेता हुन् । कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेले भौतिक पूर्वाधार मन्त्रीमा दाबी गरेका थिए । तर सत्तागठबन्धनमा उनले सहरी विकास मन्त्रालय पाएका छन् ।

पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लामा सहरी विकास मन्त्रालयअन्तर्गतको विकासे योजना हात पारेको छ । अब मन्त्री र ठेक्का दुवै एकै व्यक्ति हुने अवस्था आएको छ । उनीमाथि विभिन्न सडक आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । लामिछाने नागरिक र राहदानी विवादमा तानिएका छन् । आफूविरुद्ध परेको मुद्दा प्रभावित गर्नकै लागि लामिछाने गृहमन्त्री बनेको आरोप लागेको छ । पाण्डे पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी सहरी विकास मन्त्री बनेका हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७