• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

संसदमा ज्ञानेन्द्रकाे गर्जन : ४७ साल यताका सबै उच्चपदस्थको सम्पत्ति छानबिन हुनुपर्छ

काठमाडाैं । राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले २०४७ सालयता उच्च पदमा बसेकाको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

सभामुख निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्दै शाहीले राजनीति नागरिकसँग जोडिनुपर्ने भन्दै यो संसदले भ्रष्टाचारको छानबिन र सम्पत्तिको छानबिन गर्नुपर्ने बताएका हुन् ।

‘यसअघि आउने सम्मानित सभामुखसँग अनेक सहमति गर्नुपरेको अवस्था थियो । अब त्यस्तो नहोस्’, उनले भने, ‘२०४७ सालदेखि अहिलेसम्मका उच्चपदमा बसेका सबैको सम्पत्तिको छानबिन यो संसद्ले गरोस् भन्ने भन्न चाहन्छु ।’

उनले थपे, ‘१ करोडमा ठेक्का हुन्छ। ७२ प्रतिशत बिलोमा लगेर आज सडक अलपत्र पारिएको छ। कि आज हामीले सार्वजिनिक खरीद ऐन नयाँ बनाउनुपर्ने आवश्यकता देखिएका छ कि छैन ?’

नयाँ विदेश नीति पनि चाहिएको उनको भनाइ थियो। भने, ‘एउटा देशको राजदूत हाम्रो देशको प्रधानमन्त्रीका अगाडि उपरगौडी हालेर बस्छ। आज हामीले त्यस्तो खालको विदेश नीति बनाउन आवश्यक छ या छैन हाम्रो देशलाई ? त्यो छलफलको विषय हो।’

आशालाग्दा र भरोषालाग्दा सबै पक्षको कुरा सुन्ने सभामुख चाहिएको भन्दै एमालेका देवराज घिमिरेलाई पार्टीले समर्थन गरेको उनले बताए। पक्षको मात्र नभई प्रतिपक्षीको कुरालाई पनि सुन्न सक्ने सभामुख सदनलाई चाहिएको उनको भनाइ थियो।